कर समायोजनका लागि ९ दलले बुझाए ज्ञापनपत्र

प्रकाशित मिति:

बुटवल नगरपालिकाले लागु गरेको करको समायोजनको माग सहित शुक्रवार ९ वटा राजनितिक दलहरुले नगर प्रमुख शिवराज सुवेदीलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित राष्ट्रिय जनमुक्ति पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्र्टी , ने.क.पा. माल, नयाँ शक्ति नेपाल , राष्ट्रिय जनता पार्टी , राष्ट्रिय जनमोर्चा , राष्ट्रिय प्रजातन्त्र पार्टी ( प्रजातान्त्रिक­) नेपाल क्रान्तिकारी माओवादी लगाएतका दलहरुले संयुक्त रुपमा ज्ञापन पत्र पेश गरेका हुन् ।

ज्ञापन पत्रमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक बर्षसम्ममा जनतालाई थप सेवा सुबिधा उपलब्ध गराई जनप्रतिनिधिप्रति जनतालाई विश्वास दिलाउनुपर्नेमा बुटवल उपमहानगरपालिकाले जथाभावी कर बृद्धि गर्ने, दर्ता शुल्क र सिफारिस शुल्क बृद्धि गर्दा जनतामा निराशा छाएको भन्दै जथाभावी बृद्धि गरिएको कर तथा शुल्क बद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ ।

नेपाली कांग्रेस बुटवल नगर सभापति खिल राज पाण्डेले नगरपालिकाले बुटवलमा अत्याधिक चर्को रुपमा लिएको घर बहाल कार , दोहोरो कर ,व्यवसायी कर , अटो व्यवसायी कर ,कृषि सम्बन्धी कर , हाटवजार व्यवसायी कर , होटल व्यवसायी कर , स्वास्थ्य कर , यातायात व्यवसायी कर लगायतका विभिन्न क्षेत्रमा लगाइएका करहरु , जन्म दर्ता , मुत्यु दर्ता , साथै विभिन्न सिफारिस सम्बन्धी शुल्कहरु अत्याधिक बृद्धि गरेको भन्दै यसलाई तत्काल फिर्ता लिई कर समायोजन गर्न नगर प्रमुखलाई आग्रह गर्नुभयो ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख शिवराज सुवेदीले सबैको सुझाव सल्लाहाको आधारमा अगाडी भन्दैे विगत १५ वर्ष यता नगरपालिकाको कर बृद्धि नभएको अवस्थामा सम्बन्धित व्यवसायीक संघ संस्थाहरुको सहमतिमै कर निर्धारण गरिएको बताउनु भयो ।साथै त्यस बिषयमा थप अध्ययन गरेर समायोजन गर्न सकिने समेत बताउनुभयो ।

करको विरोधमा यस अघि पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध प्रर्दशन सहित ज्ञापन पत्र बुझाई सकेको छ ।