गुल्मी – गुल्मीमा अरिङ्गालले टोकेर आइतबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुरु गाउँपालिका– १ रिडीका १२ वर्षीय पवन अधिकारी रहेको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
विद्यालयबाट घर फर्कने क्रममा बाटोमा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालको गोला रहेको रुखलाई बाँदरले हल्लाउँदा अरिङ्गालले बालकलाई टोकर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते बालकलाई उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच गुल्मीमै खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–२ पिलधाराका ६४ वर्षिय भिमबहादुर कुँवरलाई पानाहा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । कुँवरलाई शनिवार साँझ पनाहा खोला तर्ने क्रममा बगाएको थियो ।