सुरु भयो नेजस अमेरिकाको अधिवेशन प्रक्रिया डिसेम्वरभित्र सबै च्याप्टर अधिवेशन सक्ने

६ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
31 Shares


न्यूयोर्क,अमेरिका– नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन प्रक्रिया सुरु भएको छ । आइतवार बसेको केन्द्रीय समितिको बैठकले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी मातृ पार्टी नेपाली कांग्रेसले दिएको निर्देशनको स्वागत गर्दै अधिवेशन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा सम्पन्न केन्द्रीय समितिको बैठकले अमेरिकामा रहेका जनसम्पर्क समितिका सबै च्याप्टरहरुको अधिवेशन आगामी डिसेम्वर महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टीको निर्देशन अनुसार ६ महिनाभित्रै समितिको केन्द्रीय अधिवेशन सम्पन्न गर्नका लागि च्याप्टर अधिवेशन तत्काल सुरु गर्ने गरी निर्णय गरिएको हो । समितिको यो निर्णयसंगै अमेरिकामा रहेका काँग्रेस सदस्य र शुभेच्छुकहरु उत्साहित भएका छन् ।हाल अमेरिकामा समितिका २६ वटा च्याप्टरहरु छन् भने अन्य केही च्याप्टरहरु गठनको प्रक्रियामा रहेका छन् ।

नयाँ च्याप्टर गठन गर्नका लागि निश्चित मापदण्ड अनुसार अक्टुबर महिनाभित्र आवेदन दिएमा त्यस्ता च्याप्टरहरुलाई पनि अनुमोदन गर्दै जाने निर्णय समेत बैठकले गरेको छ ।च्याप्टरहरुको नयाँ अधिवेशनका लागि यसै साता केन्द्रीय समिति र च्याप्टर समितिसहित केन्द्रीय सल्लाहकारहरुको संयुक्त बैठक आव्हान गर्ने र सोही बैठकको छलफल पश्चात भावी तयारी गरिनेछ ।आइतवारको बैठकले नेपाली कांग्रेसको दोश्रो राष्ट्रिय जागरण कार्यक्रमका क्रममा बाँके कांग्रेसकी जिल्ला सभापति किरण कोइरालामाथि कम्युनिष्टहरुले गरेको आक्रमणको निन्दा र भर्त्सना समेत गरेको छ । यसैगरी पार्टीका सभापति शेरबहादुर देउवालाई लक्षित गरी राष्ट्रपति बिद्यादेवी भण्डारीले केही दिन पहिले सार्वजनिक मंचमा व्यक्त गरेको टिप्पणीको पनि समितिले कडा निन्दा गर्दै राष्ट्रपति जस्तो सम्मानित व्यक्तिले गरेको टिप्पणीले त्यो संस्थाको गरीमामा नै आँच पुगेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया