काठमाडौं– श्री एयरलाइन्सले जेष्ठ नागरिकका लागि हवाइ भाडामा छुट योजना ल्याएको छ। कम्पनीले ८५ वर्षमाथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँमै यात्रा गराउने भएको छ। यसैगरी ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई भने इन्धन र करबाहेकको भाडामा ५० प्रतिशत छुट दिने भएको छ। यो छुट रकम अफर भाडामा भने लागू नहुने कम्पनीले जानकारी दिएको छ।
श्री एयरलाइन्सले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा नियमित उडान गर्दै आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भन्दै तयारी थालको बेला एयरलाइन्सले यस्तो अफर ल्याएको छ। केही दिन अगाडि मात्रै नेपाल एयरलाइन्सले पनि आन्तरिक उडानमा ७० वर्ष माथिका नागरिकलाई ५० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको थियो।
यो छुट एउटा उडानमा दुई जना यात्रुले पाउनेछन्। असोज १२ गतेबाट छुट योजना लागू हुने एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए। श्री एयरलाइन्ससँग अहिले ४ वटा सिआरजे र २ वटा टर्बोपप जहाज छन्।