नागढुंगा–नौबिसे सुरुङमार्ग ठेक्का सम्झौता आज, यस्तो बन्नेछ बाटो

प्रकाशित मिति:

काठमाडौं – बहुप्रतीक्षित नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणका लागि सरकारले आज (सोमबार) जापानी निर्माण कम्पनी हाज्मा–आन्द्रो जेभीसँग सम्झौता गर्दै छ । जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको यो सुरुङमार्ग हाज्मा–आन्द्रो जेभीले करिब १३ अर्ब रुपैयाँमा निर्माण गर्नेछ । जापानले यो आयोजनाका लागि नेपाललाई १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ ।

नागढुंगा सुरुङमार्ग प्रमुख श्यामप्रसाद खरेलका अनुसार निर्माण कार्य भने मंसिरपछि सुरु हुनेछ । सुरुङमार्ग निर्माणको जिम्मा पाउने कम्पनीले ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।

आयोजनाले तोकेको सर्तअनुसार यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ । दहचोकदेखि– सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ आठ किमि कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ ।