वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील छ : उपप्रधानमन्त्री पोखरेल

प्रकाशित मिति:

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आज यहाँ आयोजित २७ औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले यस क्षेत्रका समस्या समाधानका उपायसहित आउन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले ती समस्याको समाधान गर्नेछ ।’

सरकारले गरेका केही नीतिगत व्यवस्थाले व्यवसायीलाई अप्ठेरो पारेको भए त्यसको समाधानका लागि छलफल गर्न सकिने उहाँले बताउनुभयो । ‘यस क्षेत्रका समस्या बुँदागत रुपमा ठाउँमा राखाैँ, म स्वागत गर्न चाहन्छु । ती समस्या समाधान गर्न सरकारले पूराका पूरा सहयोग गर्नेछ’, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा देखा परेका समस्या सम्बद्ध सरोकारवालासँगको छलफलमा टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

नीति, निर्णय गर्दा सरोकारवालासँग परामर्श गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकार पछिल्लो समय सबै सरोकारवाला पक्षसँग समन्वय गर्ने पक्षमा रहेको बताउनुभयो । वैदेशिक रोजगारीको प्रभाव र परिणाम अत्यन्त ज्यादा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोरखेलले रोजगारीले नेपालको अर्थतन्त्र, सामाजिक, सांस्कृतिक तथा व्यक्तिको जीवनमा पारेको प्रभावका बारेमा छलफल गर्न आग्रह गर्नुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको प्रष्ट पार्दै सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘व्यवसायीसँग कुनै वैरभाव छैन, म मन्त्री रहुन्जेल यस क्षेत्रको सुधारको पक्षमा काम गरिरहन्छु’, उहाँले भन्नुभयो, ‘व्यवसायीको समस्या सुन्न चाहन्छु एक्लाएक्लै भए पनि समूहगत भए पनि म व्यवसायीको समस्या सुन्छु तर त्यो व्यवहारिक हुनुपर्छ । यो सरकार व्यवसायीकै हो ।’

व्यवसायीको सुझाव सरकारले ग्रहण गर्ने उल्लेख गर्दै मन्त्री विष्टले सरकार र व्यवसायीबीचको छलफललाई औचित्यपूर्ण बनाउन आग्रह गर्नुभयो । ‘व्यवसायीको समस्या पनि सुनौला, आमजनताको समस्या पनि सरकारले सुन्नै पर्छ । रोजगारीका खोजीमा लाखौँ युवा बाहिरिएका छन्, ती युवाको जीवन सुरक्षित बनाउने काम सरकारले गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको सन्दर्भ पेश गर्दै मन्त्री विष्टले आप्रवासन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन जरुरी रहेको बताउनुभयो । वैदेशिक रोजगार विभागका महानिर्देक डा भीष्मकुमार भुसालले प्रणालीको सुधारको पक्षमा विभागसँग हातेमालो गर्न व्यवासायीलाई आग्रह गर्नुभयो । सङ्घका महासचिव सरोजकुमार पोखरेलले व्यवसायीको हक, हित र अधिकारका लागि सङ्घ अगाडि बढेको बताउनुभयो । राज्यले व्यवसायीलाई उचित सम्बोधन गर्न नसकेको गुनासो उहाँको थियो ।