ट्रम्पले मोदीलाई ‘भारतका पिता’ भनेपछि भयो यस्तो …

प्रकाशित मिति:

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘फादर अफ इन्डिया’(भारतका पिता) भनेका छन् । तर, उनको यो अभिव्यक्ति सेलाउन नपाउँदै विरोधको सामना गर्नुपरेको छ । मंगलबार ट्रम्प र मोदीबीच भेटवार्ता भएको थियो। त्यसपछि भएको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले मोदीको खुब तारिफ गरेका थिए । त्यही क्रममा उनले मोदीलाई ‘फादर अफ इन्डिया’ भनेका थिए । ट्रम्पको यो अभिव्यक्तिलाई भारतीय कांग्रेस नेताहरुले विरोध गरेका छन् । कर्नाटकका मन्त्री प्रियांक खडगेले ट्वीट गर्दै भनेका छन् ‘के अब भारतको राष्ट्रपिता को हुने भनेर कुनै अमेरिकीले तय गर्ने हो ?’

उनले लेखेका छन् ‘यि फासिवादीहरुले हाम्रा नागरिकलाई बौद्धिक रुपमा तर्क गरेर लुटिरहेका छन, सोसल मिडियाको प्रोपोगन्डासँग मिलेर उनीहरुले हाम्रा आउँदो पिंढीलाई भड्काइरहेका छन् ।’ बिजेपीका एक युवा सांसद तेजस्वी सूर्याले ले ट्वीट गरेका थिए जसमा उनले ट्रम्पको अभिव्यक्तिलाई निकै महत्वपूर्ण बताएका थिए । सोही ट्वीटमा प्रियांकले जवाफ फर्काएका हुन् । मोदीसँगको भेटवार्तापछि ट्रम्पले भनेका थिए ‘यदि मैले पहिलेको भारतलाई स्मरण गरें भने त्यहाँका मानिस एक आपसमा लडिरहेका हुन्थे तर, नरेन्द्र मोदीले सबैलाई एकतामा ल्याउने काम गरेका छन् । उनले सबैलाई पितासरह भएर एक बनाएका छन् । सायद उनी ‘फादर अफ इन्डिया’ हुन्। र, हामीले उनलाई ‘फादर अफ इन्डिया’ नै भन्नेछौं ।’