प्रहरीका ३ जना एआईजीको सरुवा

प्रकाशित मिति:

काठमाडौं – नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ जना एआईजीको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी प्रशिक्षण प्रतिषठनमा रहेका एआईजी पुष्कर कार्कीको प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

कार्य तथा अपराध अनुसन्धान विभागमा दरबन्दी भएका एआईजी धिरु बस्नेतको मानव स्रोत तथा प्रशासन विभागमा सरुवा भएको छ । यद्यपि, उनलाई काजमा राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो । एआईजी बस्नेत यसअघि पनि सुरक्षा परिषद सचिवालयमै काजमा थिए । अर्का एआईजी ठूले राई मानव स्रोत तथा प्रशासन विभागबाट प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन् ।