मनसुन रोकिएन, दसैंमा के होला ?

प्रकाशित मिति:

काठमाडौं – संघीय राजधानी काठमाडौंसहित देशैभर आज सामान्य बदलीको अवस्था रहेको जल तथा मौसुम पूर्वानुमान महाशाखाको भनाइ रहेको छ । मौसमविद् मिनकुमार अर्यालले दसैंसम्म नै वर्षाको अवस्था रहेको जनाए । उनले बिहीबार बिहान बाह्रखरीसँगको कुराकानीमा भने,‘‘मनसुन फिर्ता हुने समय लम्बिने संकेत पाइएकाले दसैंका सुरुका दिनमा बदली र वर्षा भइरहने सम्भावना रहेको छ ।’’मनसुन सेप्टेम्बर २३ सम्ममा फिर्ता हुनुपर्नेमा अक्टोबरको पहिलो सातासम्म रहने संकेत पाइएको उनले जनाए । आज पनि देशभरी बदलीका अतिरिक्त पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको र बाँकी भूभागमा पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले आकलन गरेको छ ।

आज बिहीबार सामान्य बदली रहने र केही स्थानमा हल्का तथा मध्यम तथा कतिपय स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाको आकलन रहेको छ । त्यस्तै, शुक्रबार र शनिबार पनि अवस्था त्यस्तै रहेको जनाइएको छ । आगामी २४ घण्टामा एक दुई स्थानमा भारी वर्षा हुने तथा पहाडी भूभागमा पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने महाशाखाले आग्रह गरेको छ ।

उता बाढी पूर्वानुमान महाशाखाले गएराति ११ बजे बुलेटिन प्रकाशित गरी कास्की, लमजुङ, गोरखा, धादिङ,बागलुङ र आसपास मध्यम तथा भारी वर्षा भएकोले ती जिल्ला हुँदै बग्ने नदीमा आकस्मिक बहाव हुनुका साथै कमजोर भूभागमा पहिरो समेत जान सक्ने भएकोले आजसम्म नै सो क्षेत्रमा यात्रा गर्दा सतर्क रहन आग्रह गरिएको थियो । –फाइल तस्बिर