आफुले गरेको कर्मले आम नागरिकमा आएको परिवर्तन देख्दा गर्व लाग्छ : कल्पना आचार्य

प्रकाशित मिति:

विगत १८ वर्षदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय कल्पना आचार्यले महिला सशक्तिकरण,सामाजिक न्याय,शिक्षा र स्वास्थ्य लगतायका विषयमा सिमान्तकृत र आवाजविहीनहरुको आवाज उजागर गर्दै आएकी छिन् । रेडियो नेपाल, यङ एसिया टेलिभिजन, माउन्टेन टेलिभिजन,एभिन्यूज टेलिभिजनमा कार्यक्रम प्रस्तोता, संवाददाता र कार्यक्रम निर्मातादेखि वरिष्ठ संवाददाताको भूमिका निभाइसकेकी आचार्य हाल हेल्थ टिभी अनलाइनकी प्रधान सम्पादक हुन । पत्रकारिता विषयमा स्नातकोत्तर आचार्यले आमसंचार र मिडिया सम्बन्धी थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट तालिम प्राप्त गरेकी छिन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेशनल इन्टीगे्रटेड कलेजमा विगत १० वर्षदेखि पत्रकारिता विषय अध्यापनमा संलग्न आचार्यका मिडियासँग सम्बन्धित पुस्तक तथा लेखहरु प्रकाशित छन् । थोरै पत्रकार महिला सम्पादक मध्येकी एक आचार्य स्वास्थ्य पत्रकार मंचकी अध्यक्ष समेत हुन । उनीसँग हामीले उनको पत्रकारिताको करियरको सन्दर्भका कुराकानी गरेका छौं ।

पत्रकारितामा कसरी प्रवेश गर्नुभयो ?

उच्चा शिक्ष हासिल गर्नका लागि वि. सं. २०५५ सालमा काठमाडौं आउँदा मैले कहिल्यै पत्रकार बनौला भनेर सोंचेकी थिइन । त्यसो त त्यसताका नेपाल टेलिभिजनमा रमा सिंहले समाचार पढेको देख्दा कताकता यो फिल्डमा जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर त्यसलाई सपना चाहिं बनाइन । पढाइकै क्रममा काठमाडौंमा एकदिन पत्रिकामा एउटा विज्ञापन देखें , जसले मेरो बाटो पत्रकारिता तर्फ डोरायो । जसमा वल्र्ड भ्यू इन्टरनेशनलको प्रोजेक्ट अन्तर्गतको नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम रिटर्न टु नेचर र स्पेस टु लेट भन्ने कार्यक्रममा लागि कार्यक्रम प्रस्तोता र कार्यक्रम उत्पादकको खोजेको थियो । त्यसका लागि हालका एपी वान टेलिभिजनका निर्देशक सुरेस पौडेलले मलाई त्यहाँसम्म डोराउने काम गनुभएको थियो । त्यसबेला सुरेस दाई नेपाल टेलिभिजनका लागि काम गर्नुहुन्थ्यो । कार्यक्रम प्रस्तोता वा प्रोड्युसर के भन्ने पनि एकिन नभईकन म अन्तरवार्ताका लागि गए । वल्र्ड भ्यू इन्टरनेशनलका लागि टेलिभिजन प्रोजेक्ट कोअर्डिनेटर अनिल रिजाल हुनुहुन्थ्यो । इन्टरभ्यूबाट पास भएँ तर के गर्ने कसरी गर्ने भन्ने केही थाहा थिएन । र पनि मलाई काम गर्नुपर्छ भन्ने थियो र शुरु भयो टेलिभिजनको यात्रा ।

पत्रकारितामा लागेर के पाउनुभयो के गुमाउनुभयो ?

पत्रकाकरिता लागेको १८ वर्षलाई केलाएर हेर्दा पत्रकारितामा लागेर खासै केही गुमाएजस्तो लाग्दैन । धेरै कुरा सिक्ने मौका पाएँ । पत्रकारिता शुरु गर्दा ताकाको चार्म भने अहिले छैन । आफुले गरेका स्टोरीले आम नागरिक को जीवनमा आएको परिवर्तन भएको देख्दा गर्व महशुस हुन्छ ।
पत्रकारिता भित्रका केही अविस्मरणीय क्षणहरु छन् ?

म एभिन्यूज टेलिभिजनमा काम गर्ने क्रममा रिपोर्टिङ्गको शिलशिलामा प्यूठान पुगेकी थिएँ । प्यूठानको विकट गाउँमा एक जना अशक्त व्याक्ति आर्थिक अभावमा १२ वर्षदेखि ओछ्यानमा परेको र उनकी छोरीले स्याहारसुसार गरेको थाहा पाएँ । त्यसपछि म त्यहाँ गएर उनको स्टोरी गरें । त्यही स्टोरीका कारण काठमार्डौको स्पाइन इन्जुरी पुर्नस्थापना केन्द्र अस्पतालले उनको उपचार गरिदियो । त्यो मेरो सानो प्रयासले वर्षौ देखी ओछ्यान परेका बिरामीले नयाँ जीवन पाए । उनले उपचार पछि मलाई दिएको धन्यवाद मेरा लागि पत्रिकारिता क्षेत्रमा रहिरहन ठुलो प्रेरणा बनिरहेको छ ।
कुन विषयमा कलम चलाउन मन पराउनुहुन्छ ?

मैले शुरु देखि नै सामाजिक विषयमा कलम चलाउँदै आएँ । त्यसमा पनि विगत १० वर्ष देखी भने स्वास्थ्य बिटमा कलम चलाउँदै आएकी छु । यही बिटमा नै मलाई कलम चलाउन मनपर्छ । विशेष गरी सकारात्मक स्टोरीहरु गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

पत्रकारिता शुरु गर्नेलाई सुझावहरु छन् ?
पत्रकारिता असाध्यै संवेदनशील विषय हो । यसमा आउँदा धेरै कुरा बुझेर मात्र आउनुपर्छ । अहिले जो पनि पत्रकार बन्ने होडबाजी छ । शिक्षा र ब्यावसायीक सीप हासिल गरेर यस क्षेत्रमा प्रवेश गरे सत्य तथ्य सूचना सम्प्रेषण गर्न सकिन्छ भन्ने मेरो अनुभव र विश्वास हो ।