सी विचारधारा अन्तर्राष्ट्रियकरण भइसकेको छ : राजदूत होउ

प्रकाशित मिति:

काठमाडौं – विगत एक सातादेखि चर्चामा रहेको सी चिनफिङ विचारधारा पहिले नै अन्तर्राष्ट्रियकरण भइसकेको चिनियाँ राजदूत होउ यान्छीले बताएकी छन्। आफ्नो मुलुकले कहिल्यै विचार निर्यात नगर्ने बताउँदै उनले राष्ट्रपतिको धारणा पहिले नै अन्तराष्ट्रिय करण भएको प्रष्ट पारिन्। चीन अध्ययन केन्द्रले आयोजना गरेको ‘सी चिनफिङ थटः बिल्डिङ अ कम्युनिटी विद अ सेयर फ्युचर फर मेनकाइन्ड’ विषयक एक दिने गोष्ठीमा राजदूतले होउले यस्तो धारणा व्यक्त गरेकी हुन। ‘चीन आफ्नो विचार निर्यात गर्ने मुलुक होइन। हामीले पहिले पनि अन्य मुलुकमा विचार निर्यात गरेनौँ र आगामी दिनमा पनि गर्दैनौँ,’ राजदूत होउले भनिन, ‘कुनै पनि मुलुकको आन्तरिक मामिलामा चीन कहिल्यै हस्तक्षेप गर्दैन। त्यो चीनको नीति विपरित हुन्छ।’ राजदूत होउ यान्छीले दुई कम्युनिस्ट पार्टीबीच भएको वैचारिक बहसलाई अन्यथा नबुझ्न आग्रह गरिन्।

‘विकासको नयाँ अवधारणा भएकाले नेपालजस्ता राष्ट्रमा सी विचारधारा बहसको तातो विषय बनेको हो,’ उनले भनिन्। राजदूत होउले नेपाल–चीन घनिष्ठ सम्बन्ध भएका मित्रराष्ट्र हो भन्दै दुई मुलुकबीच छलफल आर्थिक र सामाजिक विकासको विषयमा केन्द्रित रहेको उल्लेख गरिन्। चीनका राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणका क्रममा चीनबाट आएका कम्युनिस्ट पार्टीका नेता र विभिन्न थिङट्याङकका सदस्यले काठमाडौंमा निरन्तर सीको विचार बहसमा ल्याएका छन्। राष्ट्रपति सीको पुस्तकमा नै आफ्नो विचारलाई विश्वमा विस्तार गरिएको छ। पछिल्लो समय नेपालमा चिनफिङ विचारधारमाथि बहस नै चलेको छ। राष्ट्रपति सीको भ्रमणका लागि महोल बनाउन यस्ता बहस भइरहेको बताइए पनि चीनले विचारलाई निर्यात नै गरेको ठहर सत्ता पक्षका एक धार र प्रमुख प्रतिपक्षको पनि धारणा छ। नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच छ बुँदे समझदारी हुनु र सहकार्यमा सीको विचारलाई स्वीकार गर्नुले पनि राजदूतको धारणा भन्दा फरक रहेको स्पष्ट हुन्छ।

संविधान भन्दा पर रहेर सत्तापक्षले गरेको सहकार्य आफैमा विवादित रहेको बताइरहदा राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुनै नीति चीनको नरहेको र विकास कार्यमा सहयोग गर्ने बताइन्। नेकपाले वैचारिक सामिप्यताको कारणले मात्रै सी विचारधारमाथि बहस भएको उनको भनाइ छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अन्तरक्रियालाई अन्यथा लिन नमिल्ने बताउँदै बुझाईमा कमी रहेको बताए। ‘दुई दलबीच वैचारिक आदानप्रदान विगतमा भएको र अहिले त्यसकै निरन्तरता रहेको हो। अहिले पार्टी स्कुल विभागले सुरुवात गरेको हो। अनुभव र बदलिँदो अवस्थाबारे प्रशिक्षित हुने हो,’ पोखरेलले भने, ‘हामीले कूटनीतिक सन्तुलनलाई ध्यानमा राखेर नै काम गरिरहेका छौं।’