तिलोत्तमा लगानी सम्मेलन : नेताहरु भन्छन -‘ रुपन्देहीमा गरिने लगानी सुरक्षित हुन्छ’

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलन शुरु भएको छ । काठमाडौं बाहिर पहिलोपटक आयोजना भएको लगानी सम्मेलनको पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । सम्मेलन उद्घाटन समारोहमा बोल्दै पुर्व प्रधानमन्त्री दाहालसहित विभिन्न दलका नेताहरुले रुपन्देहीमा गरिने लगानी सुरक्षित हुने र उच्च प्रतिफल प्राप्त हुने लगानीकर्ताहरुलाई विश्वास दिलाएका छन् ।
पुर्व प्रधानमन्त्री दाहालले बुद्ध जन्मस्थल लुम्बिनी,बेलहिया नाका,अन्तराष्ट्रिय विमानस्थल आदि पुर्वाधारले तिलोत्तमा नगरपालिकामा लगानीको वातावरण रहेको बताए । तिलोत्तमाको विकासले समग्र रुपन्देही र प्रदेश ५ कै विकास र समृद्धिमा योगदान दिनसक्ने दाहालले बताए । नीतिगत सुधार, ऐन संशोधन र अन्तराष्ट्रिय सम्बन्ध सुधारले लगानीमैत्री वातावरण उल्लेख गर्दै दाहालले दलाल पुजि नियन्त्रण र राष्ट्रिय पुंजी प्रवद्र्धनमा सरकारको जोड रहेको बताए । आफ्नो पार्टी र सरकार नीजि क्षेत्रको स्वतन्त्रता र सुरक्षाबाट मात्रै लगानीमैत्री वातावरण बन्छ भन्नेमा स्पष्ट रहेको उल्लेख गर्दै दाहालले ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे । स्थानीय र प्रदेश सरकारहरुमा भ्रष्टाचार बढ्दा संघीयता असफल हुंने हुंदा आफूलाई बढी चिन्ता लाग्ने उल्लेख गर्दै दाहालले स्थानीय तहहरुले आफ्नो सेवा सुविधामा भन्दा जनताको सेवामा ध्यान केन्द्रीत गर्न आग्रह गरे ।

डेढ वर्षमै चमत्कार हुनुपथ्र्यो भन्ने ढंगले विभिन्न कोणबाट नकारात्मक टिप्पणी हुने गरेकोमा असन्तुष्टी पोख्दै दाहालले साढे दुई सय वर्षदेखि थुप्रिएको फोहोर यति छिटै फाल्न नसकिने बताए । गणतन्त्र र संविधान कुनै एउटा दलको मात्रै प्रयासले आएको नभई यसमा सबै दलको योगदान रहेको स्मरण गरे । नेकपाको वहुमतको सरकारबाट कोही आत्तिनु नपर्ने भन्दै दाहालले जतिबेला पनि नकारात्मक टिप्पणी नगर्न आग्रह गरे ।  अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीको वातावरण बनाउन सम्बन्धित ऐन कानूनहरु बनाइसकेको र संसारभरका लगानीकर्तालाई आव्हान गरिसकेको बताए । श्रम सम्बन्ध सुधार र बैंक ब्याजदरमा परिमार्जनले लगानी बढेको छ । जमिन उपलब्धता र प्रकृया छिटो छरितो बनाउने चुनौति छ । लगानीमैत्री वातावरण बनाउन संघ,प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य हुनुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए । भू उपयोग ऐन कार्यान्वयन गर्दा औद्योगिक –व्यावसायिक वातावरण बन्ने उनले बताए ।

बुटवल–सिद्धार्थनगर जोडेर मेघासिटी बनाउन सकिने औंल्याए । नीजि क्षेत्रसंग सहकार्य गर्न अर्थमन्त्रीले सुझाए । नगर विकास कोषलाई नगर विकास निगमका रुपमा अघि बढाउन चाहेको जानकारी गराए । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक,वित्तीय,यातायात पुर्वाधार सबै हिसाबले रुपन्देही औद्योगिक–व्यवासयिक विकासको प्रचूर संभावना बोकेको थलो भएको बताए ।  रुपन्देहीमा गरिने लगानीबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । लगानीको वातावरण बनाउन र पुर्वाधारहरु बनाउन प्रदेश सरकार स्थानीय सरकारहरुको साथमा रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

संघीय ऐन कानून वाधक : मुख्यमन्त्री राउत प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले स्थानीय तहमा पहिलोपटक तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेर संघीयतामा स्थानीय तह पनि सक्षम छन् भन्ने सन्देश दिएपनि संघीय ऐन कानूनहरु झन्झटिलो र लगानीमैत्री नभएकाले लगानी भित्रिन कठीन भएको बताए । केन्द्रीकृत र एकात्मक मानसिकता संघीय सरकारले नत्यागेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताए । स्थानीय, प्रदेश र संघीय सरकारबीच कानून निर्माण र सोंचमा एकरुपता हुनुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिए ।  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहहरु र जनप्रतिनिधि भ्रष्टाचारमा डुबेको आरोप लागिरहेका बेला तिलोत्तमा नगरपालिकाले देशभरका स्थानीय तहहरुका लागि अनुकरणीय काम गरेर देखाएको बताए । स्थानीय र स्वदेशी उत्पादनको अनिवार्य प्रयोगको नीति तीनै तहका सरकारले बनाउनुपर्नेमा जोड दिए ।

पुर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल, रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य एवं नेकपा स्थायी समिति सदस्य घनश्याम भुसाल,नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांण र रुपन्देही १का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले नेपाल भारत सीमा नाका,देशको मध्यभाग,६ लेन सडक,अन्तराष्ट्रिय विमानस्थल,बुद्ध जन्मस्थल लुम्बिनी जस्ता पुर्वाधार र सम्पदाले तिलोत्तमामा गरिने लगानी सुरक्षित हुने धारणा राखे । भारतले गरेको नाकाबन्दीका बेलामा समेत बेलहिया नाका अबरुद्ध नभएकाले पनि रुपन्देही भारतसंग मात्र नभई चीनसंगको अन्तराष्ट्रिय ब्यापारिक नाका हुन सक्ने औंल्याए ।  सम्मेलन आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सम्मेलनमा कृषि,उद्योग,पर्यटन,यातायात र स्वास्थ्य क्षेत्रसंग सम्बन्धित २२ परियोजनाहरु प्रस्ताव गरिएको र कम्तिमा १० परियोजनामा सम्झौता हुने अपेक्षा रहेको बताए । सम्झौता हुने परियोजनालाई नगरपालिकाले ३०–४० वर्षसम्म लिजमा जमिन उपलब्ध गराउने र जग्गा भाडा प्रतिकट्ठा पाँच हजार रुपैयां मात्र तोकेको घिमिरले बताए ।

सम्मेलनमा तिलोत्तमा एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र (कोल्ड स्टोरसहित), तिलोत्तमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, तिलोत्तमा ११ गणेशनगरमा ढाक्रेबास एकीकृत पर्यटकीय आयोजना, मिनी नेपाल, तिलोत्तमा क्यान्सर अस्पताल, तिलोत्तमा रेल्वे (रिङरोडमा) लगायत प्रस्ताव रहेका छन् । करिब ५० अर्ब लगानी भित्र्याउने उद्देश्यसहित २२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो । नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने उद्योग तथा परियोजनालाई पाँच वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिने जनाएको छ । यस्तै, तीन सयसम्मलाई रोजगारी दिनेलाई १० वर्षसम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइने प्रवक्ता श्रीले बताउनुभयो ।

पाँच सय जनासम्मलाई रोजगारी दिने परियोजनालाई १२ वर्षसम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिने नगरपालिकाको बैठकले निर्णय गरेको छ । नगरपालिकाले पाँच सय बढीलाई रोजगारी दिने परियोजनालाई १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुट दिनेछ । कृषिमा आधारित दुग्ध उद्योग, माछाभुरा उत्पादन, मत्स्यपालन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरलगायत परियोजनालाई स्थापनाको सात वर्षसम्म व्यवसायिक कर र नक्शा पासमा ५० प्रतिशत छुट दिइने नीति बनाएको छ । उद्घाटन सत्रपछि कृषि, पर्यटन, उद्योग र यातायात क्षेत्रमा लगानीका संभावना र चुनौतिका समूहगत छलफल हुने छ । सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पांच सय जना लगानीकर्ता सहभागी रहेका तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।