एनआरएनए चुनावः प्रजातन्त्रवादीका लागि प्रतिष्ठाको लडाइँ, युरोपबाट आचार्यलाई ढाडस

प्रकाशित मिति:

एनआरएनएको विश्व सम्मेलनले यतिबेला प्रवासमा नेपाली समुदायको माहौल तातेको छ। आगामी अक्टोबरमा काठमाडौँमा हुने विश्व सम्मेलनले दुई बर्षका लागि एनआरएनएको नयाँ नेतृत्व चयन गर्दै छ। यसै सन्दर्भमा पदाधिकारीलगायत क्षेत्रीय समितिका लागि धमाधम उम्मेदवार घोषणा भइरहेको छ। वर्तमान अध्यक्ष भवन भट्ट नदोहोरिने निश्चित भएपछि अध्यक्ष पदमा कुल आचार्य र कुमार पन्तबीच प्रतिस्पर्धा हुने देखिन्छ। आचार्य र पन्तले आ–आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। आचार्य लोकतान्त्रिक खेमाका हुन् भने पन्त कम्युनिष्ट खेमाका। आचार्य र पन्त दुवै युरोपका सफल नेपाली व्यवसायी हुन्। बेलायतमा नेपालीको बाक्लो उपस्थितिका बीच भएको उम्मेदवारी घोषणाले आचार्यलाई अलिक ढाडस मिलेको छ। बेलायत सबैभन्दा ठूलो एनसीसी भएकाले पनि उनको उम्मेदवारीलाई अर्थपूर्ण मानिएको छ।

अध्यक्षमा दावी गरेका आचार्य र पन्त एनआरएनएको अभियानमा सँगै जस्तो आएको भए पनि पदाधिकारीमा आउँदा आचार्य एक कदम अगाडि देखिएका थिए। एनआरएनए जर्मनीबाट अगाडि बढ्दै युरोप क्ष्ोत्रको संयोजक बनेका पन्त त्यसपछि सचिव, महासचीव हुँदै हाल उपाध्यक्ष छन्। अर्कातिर आचार्य एनआरएन बेलायतको एनसीसी हुँदै युरोप क्षेत्र संयोजकबाट उपाध्यक्षमा आउन सफल भएका हुन्। विगतको च्ुनावी परिणाम हेर्ने हो भने युरोप क्षेत्र सधैं हावी हुँदै आएको छ। २७ देशको एनसीसी भएकाले पनि चुनावमा युरोपको महत्वपूर्ण भूमिका हुन्छ। यो पटक संयोगले आचार्य र पन्त युरोप क्षेत्रकै हुन् । आचार्य बेलायत निवासी हुन् जहाँ सबैभन्दा बढी नेपालीको बसोवास रहेको मात्र नभई सदस्य संख्याका आधारमा सबैभन्दा ठूलो एनसीसी हो। पन्त जर्मन निवासी हुन्।

आचार्यको गुण भनेकै सबैसँग छिटै घुलमिल हुन सक्नु हो। यही खुबीका कारण छिट्टै एनआरएनको माथिल्लो पदमा पुग्न सफल भएका हुन्। आचार्यमा अरुलाई विश्वासमा लिन सक्ने खुबी भएको निकटहरू बताउँछन्। तर पन्त फरक स्वभाबका छन्। उनी झट्ट कसैलाई बिश्वास गर्दैनन्। तर पनि उनीसँग चुनावको अनुभव भने छ। तर अहिले समय बदलिएको छ। एनआएएनएको नेतृत्वमा आउन माथि उल्लेखित ’फ्याक्टर’ नै चाहिँ निर्णायक हुँदैनन्। अहिलेको महत्वपूर्ण सवाल भनेको उम्मेदवार स्वयं सबै एनसीसीमा पुगेको छ कि छैन भन्ने पनि हो। किनकि चुनावमा व्यक्तिगत भेटघाट गरी आफ्नो कुरा राख्नु पनि महत्वपूर्ण मानिन्छ। त्यसैले पनि आचार्य र पन्तले विश्वव्यापी दौडाहा र भेटघाट सकेका छन्। दुवै उम्मेदवार अमेरिकादेखि क्यानडा अनि मध्यपूर्वदेखि एशिया र युरोपका सबै देशका अधिवेशन अनि कार्यक्रममा सहभागी भएर नेपाल फर्कने क्रममा छन्।

एनआरएनमा सधैं अर्को एउटा ‘फ्याक्टर’ महत्वपूर्ण छ, राजनीतिक आस्था। यतिबेला नेपालमा कम्युनिष्ट सरकार छ भने प्रजातान्त्रवादीहरू विपक्षमा छन्। एनआरएनएको चुुनाव विगतका सम्मेलनमा प्रजातन्त्रवादीको मत निर्णायक रहँदै आएको छ। त्यसकारण विगतको तथ्यांक केलाउँदा विदेशमा बस्ने अधिकांश प्रजातन्त्रमा विश्वास गर्नेहरू नै छन्। त्यस हिसाबले आचार्यले बाजी मार्न सक्ने देखिन्छ। कम्युनिष्ट नेतृत्वको सरकारका अलोकप्रिय निर्णयबाट आजित भएपछि नेपालका कतिपय व्यवसायिक संस्थाको चुनाबमा सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा उभिँदा पनि कांग्रेस समर्थकले बाजी मारेका छन्। त्यसकारण विश्वभर छरिएर रहेका एनआरएनआबद्ध प्रजातन्त्रवादीहरूले आगामी सम्मेलनलाई प्रतिष्ठाका रुपमा हेरेका छन्। यो अवस्थामा आचार्यलाई एनआरएनएको नेतृत्वमा पुग्नका लागि कसैले छेक्न सक्ने देखिँदैन । – लेखक प्रकाश ढकाल डेनमार्कको कोपनहेगनमा बस्छन् । यो खबर स्पेसखबरमा प्रकाशित छ ।