दशकदेखि एनआरएनएमा सकृय सोनाम लामाले आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने

प्रकाशित मिति:

झण्डै एकदशकभन्दा लामोसमयदेखि एनआरएनए अभियानमा सकृय रुपमा सहभागी रहदै आउनुभएका अमेरिकी निवासी सोनाम लामाले एनआरएनए आईसीसीको आगामी निर्वाचनमा केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने भएको छ । आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए ग्लोबल सम्मेलनले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सन् २००९ देखि लगातार ४ बर्ष एनआरएनए आईसीसी सदस्य रहनुभएका सोनाम लामाको पहलमा एनआरएनए अमेरिका बन्द कोठाबाट आम जनतामाझ आउन सफल भएको थियो । लामा एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि डीआरसी रहेकै बखत एनआरएनए अमेरिकाको पहिलोपटक आमरुपमा सदस्यता वितरण र निर्वाचन सम्पन्न भएको थियो । सन् २०१५ मा एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजकमा निर्वाचित लामाले नेपालमा आएको विनाशकारी भूकम्पमा प्रत्यक्ष फिल्डमा खटिएर राहत वितरण लगायतका काममा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । त्यस्तै नेपालमा बाढीपहिरो लगायतका प्रकोप आउँदा पनि उहाँ अमेरिकाबाट नेपाल आएर राहतको कार्यमा खटिदै आउनुभएको छ ।

महाभूकम्पको बेला राहत र उद्दारको कार्यमा खटिदै । –मुस्ताङको मुक्तिनाथ पुराङमा जन्मिनुभएका लामा झण्डै २४ बर्षदेखि अमेरिकामा रहँदै आउनुभएको छ । अमेरिकामा अर्गानिक सुपरमार्केटको बिजनेश गर्ने लामा नेपालको मुस्ताङमा अर्गानिक स्याउको उत्पादनमा लागिरहनुभएको छ । मुस्ताङको जोमसोममा उहाँका स्याउ फर्महरु संचालित छन् । नेपाली कृषि उत्पादनको प्रवद्र्धनमा सकृय लामा पर्पटन प्रवद्र्धनको क्षेत्रमा पनि उत्तिकै लागि रहनुभएको छ । मुक्तिनाथमा लामाकै एकल पहलमा स्थापना गरिएको बुद्धमूर्ति नेपालकै सबैभन्दा अग्लो स्थानमा स्थापित ढुंगाको बुद्धमूर्ति हो । यो बुद्धमूर्तिको स्थापनामा ४ करोड भन्दा धेरै रकम खर्च भइसकेको छ । सोनाम लामा भन्नुहुन्छ —‘हिन्दुधर्मालम्बीहरु पशुपतिनाथको दर्शनपछि मुक्तिनाथ क्षेत्रमा आउने गर्छन् । त्यसैगरी बौद्धधर्मालम्बीहरु लुम्बिनीको दर्शनपछि मुक्तिनाथ क्षेत्रमा आउने वातावरण बनाएर हिन्दु र बौद्ध धर्मालम्बीहरुको पर्यटन बढाउन बुद्धमूर्तिको स्थापना गरिएको हो । यसबाट धार्मिक पर्यटकहरुमात्र होइन, घुमफिर गर्नमात्र आउने पर्यटकको संख्या समेत बढ्ने हाम्रो विश्वास रहेको छ ।’

मुक्तिनाथमा निर्माणधिन रिसोर्ट । – अमेरिकामा रेष्टुरेण्ट व्यवसाय गरेका लामाले नेपालको मुक्तिनाथमा रिसोर्ट र काठमाडौंमा होटल संचालनको तयारी गरिरहेका छन् । आगामी जनवरीसम्म संचालनको लक्ष्य राखिएको उक्त रिसोर्ट र होटलमार्फत रोजगारी श्रृजना गर्नमा र नेपालमा अर्थतन्त्रमा मात्र नभई पर्यटनको क्षेत्रमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । हेल्प्यिाडसहितको व्यवस्थीत रिसोर्ट संचालन गर्न लागिएकाले मुक्तिनाथमा पुग्ने पर्यटकका लागि सहज हुने विश्वास गरिएको छ ।

एनआरएनएमा नागरिकताको निरन्तरताको मुद्दालाई लगातार उठाइरहनुभएका लामाले एनआरएनए नागरिकताको विषय सविधानमा लेखिएपनि ऐन बन्न र कार्यान्वयन हुन बाँकी रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । कार्यान्वयनका सन्दर्भमा जटिलता आउनसक्ने भएकाले त्यसलाई सहज बनाउन आफू लागिपर्ने उहाँको भनाई छ । उहाँको नेतृत्वमा भएको न्युजर्सी सम्मेलनबाट पारित भिजन २०२० एण्ड वियोण्डको कार्यान्वयनका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको पनि लामाको भनाई छ । एनआरएनए नागरिकतापछि अब विदेशमा रहेका नेपालीहरुले नेपालको पर्यटन, अर्थतन्त्र र समग्र विकाशमा दिनसकिने योगदानबारे एनआरएनए केन्द्रीत हुनुपर्ने उहाँको धारणा रहेको छ ।