पोखरा – गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात् असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको बिहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
यसअघि घटस्थापनाको दिनमा दिइँदै आएको बिदा संघीय सरकारले काटेको थियो । यसअघि क्षेत्री समाज नेपालसहितका संघसंस्थाहरुले दशैँ सुरु हुने घटस्थापनाका दिन सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए । प्रदेश सरकारले केन्द्र सरकारले प्रदान गरेको ६ दिन सार्वजनिक बिदा दिन पाउने अधिकारमा टेकेर यो बिदा घोषणा गरेको हो ।