एसिड आक्रमणको शिकार : कसैलाई ‘सरकारी’ खर्च, केही आफ्नै खर्चमा

प्रकाशित मिति:

हेटौंडा – सरकारले एसिड आक्रमणबाट घाइते भएकाहरुलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिरहँदा हेटौंडाकी एक पीडित भने लामो समयदेखि निजी खर्चमा उपचार गराउन बाध्य भएकी छन् । नेपाल सरकारको मंगलबारको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमणबाट घाइते भएका उनीहरुलाई उपचार खर्च एवम् जीवनयापन गर्न जनही तीन लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने सकारात्मक निर्णय गरेको हो । एसिड आक्रमणमा परेकी काठमाडौं कालोपुलकी खड्का र बीरगञ्जकी खातुनलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बैठकले उक्त निर्णय गरेको बताउनुभएको हो ।

तर, हेटौंडाकी एक महिला भने आफ्नै परिवारले गर्दै आएको खर्चले उपचार गराउँदै आएकी छन् । २०७० वैशाख ९ गते विहान करिब ११ बजे हेटौंडा–३ मा रहेको भाँडा पसलमा २२ वर्षकी बिन्दवासिनी कंसाकारलाई पसलभित्र बसिरहेको अबस्थामा तेजाव प्रहार भएको थियो । घटनापछि युवतीको स्वास्थ्योपचारका लागि परिवारले हालसम्म करिब ७० लाख बढी खर्च गरिसकेको छ । उनको काठमाडौंमा दुई पटक प्लाष्टिक सर्जरी र भारतको तामिलनाडुमा त्यसपछि हरेक तीन महिनामा कस्मेटिक सर्जरी गरिँदै आएको छ । करिब २७ वर्षका राज केशरी उनको अनुहारमा तेजाव फ्याँकेर फरार भएका थिए । करिब ६ वर्षसम्म पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । पीडकलाई भारतसम्म खोज्न पुग्यो प्रहरी । तर, पत्ता लागेनन् । हालसम्म पनि केशरीको खोजीमा आफूहरु जुटिरहेको प्रहरीले दाबी गरेको छ । नम्बर नखुलेको पल्सर मोटरसाइकल पछाडि बसेर आएका केशरीविरुद्ध तत्काल प्रहरीमा उजुरी गरिए पनि प्रहरीले अघिल्लो चौकीसँग समन्वय नगर्दा उनी सोही दिन रक्सौल नाका हुँदै भारत फरार भएको परिवारको दाबी छ ।

युवतीले आफ्नो घटनामा पहिचान भइसकेका अपराधी केशरीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय हुने विश्वास व्यक्त गर्नुभयो । आफूले सम्मान गरेर ‘दाइ’ भनी सम्बोधन गर्ने गरेको व्यक्तिबाट नै जीवन बर्बाद हुने गरी तेजाव आक्रमण हुन्छ भन्ने आफूले सोच्दै नसोचेको उहाँले बताउनुभयो । तेजाव आक्रमणपछि आफूले आँखा कम देख्न थालेको र विशेष प्रकारको उपचार घरमै गर्न आफू बाध्य भएको उहाँले गुनासो गर्नुभयो । आक्रमणपछि उहाँको पढाइ लामो समय बन्द भयो । परिवार र शुभचिन्तकले धेरै सम्झाएपछि मात्र उहाँले आफ्नो पढाइलाई निरन्तरता दिएकी बुबा मधु कंसाकारले बताउनुभयो । ‘अस्पतालले ९९ प्रतिशत ठीक गराउँछु भनेको छ,’ उहाँले भन्नुभयो–प्रहरी÷प्रशासनले यस घटनालाई बेवास्ता गरेकोमा भने हामी दुःखी छौं । तेजाव मानिस आफैंले बनाउनसक्ने रसायन होइन र जोकोहीले आपूर्ति गर्न पाउँदैनन् । इजाजतप्राप्त सप्लायर्सलाई मात्र यसको अधिकार छ । उनीहरुसँग पनि जोकोहीले किन्न पाउँदैनन्, तापनि दुरुपयोग भइरहेको कुरालाई मध्यनजर गर्दै बजार अनुगमनका क्रममा तेजावको समेत अनुगमन गरिनुपर्ने आवाज उठ्दै आएको छ । – न्युजअफनेपाल