मसलन्द उद्योग संघद्वारा दोभानमा शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति:

हरिश ढकाल- बुटवल/पाल्पा दोभान स्थित बडहरेमा रहेको बालज्योती प्राथमिक बिद्यालयमा शैक्षिक एवं खेलकुद सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघले तिनाउ गाँउपालिका वडा नं. २ को विकट गाउ बडहरेमा रहेको सो बिद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । संघको ५ नं. प्रदेश समिति तथा बुटवल क्षेत्रिय समितिको संयूक्त आयोजनामा उक्त विद्यालयमा अध्ययनरत ग्रामिण क्षेत्रका जेहन्दार विद्यार्थीहरुलाई १÷१ थान झोला, नोटकपि, पेन, पेन्सील लगाएतका सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले करिब १ लाख रुपैयाँ बराबरको सामाग्री विद्यार्थीहरुलाई प्रदान गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष घर्तीले ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरुमा अध्ययन गर्ने वालवालीकाहरु शैक्षिक सामाग्रीहरुको अभावमा शिक्षा आर्जन गर्न बाध्य भएको अवस्थामा प्राप्त सहयोगले ठूलो राहात प्रदान गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष घर्तिले गाँउका विद्यालयहरुको स्तरबृद्धिका लागि गाँउपालिकाले सक्दो प्रयास गरेको बताउदै त्यसमा हातेमालो गरिदिन सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका केन्द्रीय सदस्य मेघनाथ अधिकारीले मसलन्द व्यवसायीहरु नाफा कमाउनेतर्फ मात्र नलागेर सामाजिक उत्तरदायित्वमा सहभागि हुँदै आएको बताउदै स्कुललाई सानो सहयोग दिन पाएकोमा खुशी ब्यक्त गरेका थिए । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका केन्द्रीय सदस्य लक्ष्मण न्यौपाने, बुटवलका अध्यक्ष नारायण न्यौपाने, संघका प्रदेश सचिव कमल नेपाल, गाँउपालिकाका प्रवक्ता एवं वडाध्यक्ष राजेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर पल्ली, विद्यालयका प्र.अ. बिनोद गाहा लगायतले शैक्षिक क्षेत्रका समस्या र समाधानका उपायबारे चर्चा गरेका थिए । सो अवसरमा नेपाल मुद्रण महासंघका केन्द्रीय सदस्य गिरिराज (राजु) गैरेले विद्यालयलाई खेलकुद सामाग्रीहरु प्रदान गरेका थिए ।