नेपाल बैंकको सिइओमा कृष्णबहादुर अधिकारी नियुक्त

प्रकाशित मिति:

काठमाडौं –  नेपाल बैंक सञ्चालक समितिले निमित्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलाई ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। खुला प्रतिस्पर्धामा संलग्न १३ जनालाई पछि पार्दै अधिकारीले बैंकको सिइओको जिम्मेवारी पाएका हुन् । सिइको अन्तिम प्रतिस्पर्धामा अधिकारीसँगै शेषरमण आचार्य, शंकरकुमार रायमाझी र पुष्पराज भण्डारी थिए। अधिकारीले आचार्य र रायमाझी भन्दा उच्च अंक प्राप्त गरेकाले उनैलाई प्रमुख कार्यकारी अधिकृत बनाइएको एक सञ्चालकले जानकारी दिए। भण्डारी भने बैंक अफ काठमाडौंको कर्जा अपचलनसम्बन्धित मुद्दामा हिरासतमा रहेकाले उनले अन्तर्वार्ता नै दिन पाएनन्।

‘अन्तिम ४ जनामध्ये हामीले ३ जनासँग मात्रै अन्तर्वार्ता गर्‍यौँ र त्यसैको आधारमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिको निर्णय गरेका छौँ,’ बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले भने । नवनियुक्त सिइओ अधिकारी नेपाल बैंककै उत्पादन हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन गरेका छन्। अधिकारी लमजुङका स्थायी बासिन्दा हुन्।