अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले दिए बडादशैंको शुभकामना

प्रकाशित मिति:

सिड्नी – अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हिन्दूहरुको महान चाड बडादशैंको शुभकामना दिएका छन् । आइतबार घटस्थापनाको दिन शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री मोरिसनले सबै हिन्दुहरुलाई दशैंको नवरात्रमा हर्षोल्लास र शक्ति अझ बढोस् भन्ने कामना गरेका छन् ।

दशैंको नवरात्रिले सबैलाई एकसूत्रमा बाँधिराखेको अष्ट्रेलियाको बहुसँस्कृतिको याद आउने उनले उल्लेख गरेका छन् । साथै आस्था र पृष्ठभूमि जे भए पनि एकअर्कालाई स्वीकार र सम्मान गर्दै विशेषाधिकार तथा जिम्मेवारी हामी सबैलाई मिलोस् भनेर अष्ट्रेलियाले प्रतिज्ञा गरेको उनले बताएका छन् । उनले बिभिन्न देशबाट आएर बसोबास गरिरहेका हिन्दु समुदायले अष्ट्रेलियालाई पृथ्वीकै सबैभन्दा शान्तिपूर्ण र बहुसाँस्कृतिक राष्ट्र बनाएको भन्दै धन्यवाद पनि दिएका छन् ।