शिक्षक लाइसेन्सको परीक्षा रद्द, कार्तिक २३ गते फेरि परीक्षा हुने

१२ आश्विन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
695 Shares


काठमाडौं – माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाईसेन्स) को परीक्षा अन्तर्गत शुक्रबार भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा रद्द गरिएको छ । कात्तिक २३ गते परीक्षा सञ्चालन गर्ने गरी शिक्षक सेवा आयोगले उक्त परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।
परीक्षा हुने समय र स्थान पछि सार्वजनिक गर्ने आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । समयमै थाहा पाएकाले समाधान गरिएको दावी गर्दै आयोगले शुरुमा परीक्षा रद्द नहुने बताएको थियो । तर उक्त घटनाले परीक्षाकै मर्यादामा आँच आएको भन्दै आलोचना बढे पछि आईतबार बसेको आयोगको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

आयोगको मुख्य काम नै मर्यादित र विश्वसनीय रुपमा परीक्षा सञ्चालन गर्नु तथा योग्य उम्मेद्वार छनौट गर्नु रहेकोले त्यसमा सम्झौता गर्ने कुरै नआउने भन्दै गौतमले छलफलमा रहेका अन्य विकल्पलाई छाडेर रद्द गर्ने निर्णय गरेको बताए । ‘हामीले शुरुमा थाह पाउँदा कतिपय केन्द्रमा प्रश्न पत्र बाँडिएकै थिएन, तर बुझ्दै जाँदा कतिपयमा बाँडिएको हुन सक्ने समेत देखियो, कतिपय ठाउँमा परीक्षार्थीले लेख्न शुरु गरिसकेको पनि कुरा आयो, समग्रमा एकरुपता भएन’ गौतमले भने ‘जब परीक्षाको मर्यादा, विश्वसनीयता र एकरुपतामा प्रश्न उठ्छ त्यसलाई हल गर्नु पर्छ भन्ने निश्कर्षमा पुगेर हामीले यो निर्णय गरेका हौं ।’

आयोगको लापरवाहीका कारण उक्त विषयको समूह ‘घ’ को बस्तुगत तर्फको प्रश्न पत्रमै उत्तर समेत सार्वजनिक भएको थियो । उत्तरलाई बोल्ड अक्षरमा छापिएको फेला परे पछि उक्त लापरवाही सार्वजनिक भएको हो । यसले आयोगको कार्य सम्पादन र परीक्षाको विश्वसनीयतामै प्रश्न उब्जेको थियो । घटनालाई कमजोरीका रुपमा स्विकारे पनि आयोगले ‘समयमै थाह पाएको र परीक्षा प्रतिस्पर्धात्मक नभएका कारण त्यसले त्यति ठूलो असर नहुने’ प्रारम्भिक अनुमान गरेको थियो । तर, शंका र कार्यसम्पादनमै प्रश्न उठ्नुले आयोगको समग्र मर्यादा कायम नहुने भए पछि रद्दको निर्णय गरेको गौतमले बताए । – एडुखबर

फेसबुकबाट तपाईको प्रतिक्रिया