क्यानले अब नेपालको सबैभन्दा ठूलो लिग आयोजना गर्छ – नवनिर्वाचित अध्यक्ष चन्द

प्रकाशित मिति:

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को १३ अक्टोबरमा बस्ने बोर्ड बैठकपछि मात्र हामीले औपचारिक काम गर्न पाउने आसा छ। त्यसअघि हामी अनौपचारिक रुपमा क्रिकेट विकासका लागि गृहकार्य थाल्छौं। पहिलो काम नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवाका लागि आइसिसीलाई पत्राचार गर्छौं। नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं। आइसिसीकै निगरानीमा निर्वाचन भएकाले अब हामी रोडम्याप अनुसार निलम्बनका लागि पत्रचार गर्नेछौं। निलम्बन फुकुवासँगै लामो समयदेखि रोकिएको आइसिसीको अनुदान आउने विश्वास छ। आइसिसीले हामीलाई अहिले पनि शंकाको दृष्टिले हेरिरहेको छ। निलम्बन पछि मात्र होइन विगत ६ वर्षदेखि नेपाली क्रिकेटमा आर्थिक पारदर्शिता हुन सकेन, प्रशासनिक सुशासन हुन सकेन भन्ने आइसिसीको आरोप छ। केहि त्यस्ता घटना पनि देखिएका थिए।

क्रिकेटका लागि दिएको अनुदान सहि सदुपयोग हुन सकेको आइसिसीको आशंका छ। त्यसैले अहिलेको निर्वाचित समितिले आइसिसीलाई विश्वस्त पार्न गर्नु पर्ने सबै प्रयास गर्नेछ। हामीले कुनै खालको गैरपारदर्शि र विवाद हुने काम गर्दैनौ भन्ने विश्वास दिलाउनेछौं। यहि म्यान्डेट लिएर हामी आइसिसीसँग समन्वय गर्छौं। पछिल्लो कार्यकालमा काम गर्न पाएको भए मैले अहिले नेतृत्वका लागि दाबी गर्दिन थिए। निलम्बनले गर्दा चार वर्ष काम गर्न पाइन। अबको चार वर्षपछि नेपाली क्रिकेटका लागि योगदान दिन सक्ने क्षमता साथीहरुलाई हस्तान्तरण गर्छु भन्ने मेरो प्रतिबद्धता छ। आगामी कार्यकाल मेरा लागि धेरै चुनौती छन्। क्यानमा जित्ने व्यक्ति गौण हो संस्था मुख्य कुरा हो भन्ने लाग्छ। आइसिसी लगायत सरकारले व्यक्तिलाई हेर्दैन स्वतन्त्र संस्थासँग मिलेर काम गर्ने हो भन्ने लाग्छ। त्यसैले आइसिसी लगायतका संस्थासँग समस्या हुन्न। तर हामीले आन्तरिक रुपमा नेपाली क्रिकेटको विकास लागि काम गर्नुपर्नेछ। कर्मचारीको काम गर्ने कार्यशैली ‘एक्स्पर्ट’ नभएको तथा पदाधिकारीले सारा क्रिकेट चालउनुपर्छ भन्ने मानसिकता छ। तर त्यो होइन। १७ जना केन्द्रीय कार्यसमितिका सदस्यले काम क्रिकेट विकासका लागि निर्णय गर्ने हो। क्रिकेट विकास लागि योजना बनाउने हो। यसको कार्यान्वयनका लागि जनशक्तिलाई प्रयोग गर्ने हो।

दक्ष जनशक्तिलाई क्यानमा राखेर सञ्चालन गर्ने हो। त्यसैले हामी दिनहुँ क्यान धाउने र राष्ट्रिय प्रतियोगिताका लागि दुगुर्ने होइन। सबै काम गर्नका लागि हाम्रा विभाग हुन्छन्। विभागले क्रिकेट विकासका लागि कार्यक्रम सञ्चालन गर्छ। हामीले विकेन्द्रीकरणलाई जोड दिँदै सबैलाई कामको जिम्मेवारी दिने हो। जिल्ला प्रतियोगिता गर्न पनि केन्द्रीय सदस्य जानु पर्ने, प्रदेश प्रतियोगितामा पनि केन्द्रीय पदाधिकारीको भूमीका हुनु पर्ने छैन। हामीसँग तीन तहको समिति छ। सबै समितिले आ–आफ्नो जिम्मेवारी वहन गरेर क्रिकेटलाई एकढिक्का बनाएर अगाडि बढाउनेछ। अहिले नेपाली क्रिकेट शून्यको अवस्थामा छ। हामीसँग जनशक्ति पनि छैन। पहिला सिइओ राखेका थियौं। तर क्रिकेट विवादका कारण सिइओलाई हटाउनुपर्‍यो। त्यसपछि आइसिसीले प्रत्यक्ष रुपमा नेपाली क्रिकेटलाई सञ्चालन गरिरहेको छ। आइसिसीले हामीसँग आर्थिक पारदर्शिताका चुस्त प्रशासन सञ्चालनका लागि सिइओ राख्नु पर्ने शर्त राखेको छ। हामी आइसिसीको शर्तमा रहेर काम गर्नेछौं। व्यवसायिक रुपमा नेपाली क्रिकेटलाई अगाडि बनाउनका लागि यो आवश्यकता पनि छ। हाम्रो कार्यसमितिका सदस्यहरु स्वयमसेवक हुन्। उहाँहरुको एक सुत्रीय एजेन्डा क्रिकेटलाई विकास गर्नु हो। त्यसलाई कार्यान्वयका लागि हामीले दक्ष जनशक्ति प्रयोग गर्नु पर्छ। प्रादेशीक क्रिकेटलाई सबैभन्दा सशक्त बनाउने योजना छ। सम्पूर्ण क्रिकेटको विकासका जिम्मा प्रादेशीक क्रिकेटलाई दिन्छौं। नेपाल क्रिकेट संघले सुपरीवेक्षण र गतिविधिलाई सघाउनेछ।

एकदिवसीय क्रिकेटमा बलियो बनाउनका लागि जिल्ला स्तरबाट प्रतियोगिता गर्छौं। सबै उमेर समूह र सिनियर स्तरको छनोट प्रतियोगिताहरु सुचारु गर्छौं। दुईदिवसीय क्रिकेट गराउनका लागि पनि गृहकार्य गर्नेछौं। एकदिवसीयलाई बलियो बनाउदै दुईदिवसीय क्रिकेटलाई पहिलो प्राथमिकतामा राख्छौं। पछिल्लो एक दशक भन्दा बढी समयदेखि दुईदिवसीय क्रिकेट विभिन्न कारणले हुन सकेन। त्यसैले हामी पूर्वाधार विकास गरेर फेरि दुईदिवसीय क्रिकेट गर्छौ। काठमाडौंमा मात्र सीमित गरेर नेपाली क्रिकेट अगाडि बढ्न सक्दैन। त्यसैले घरेलु क्रिकेटका अधिकतम प्रतियोगिता काठमाडौं बाहिर गर्छौं।

अहिले भइरहेका टी–२० फ्रेन्चाइज लिगको निगरानी पनि गर्छौ। यी लिगले नेपाली क्रिकेटलाई कति सकारात्मक प्रभाव पारेको छ, त्यो अध्ययन गर्छौं। बिक्रितिलाई अन्त्य गर्दै कागजपत्र ठिक छ कि छैन भन्ने अध्ययन गर्छौं। सबै कुरा नेपालको कानुन र क्रिकेट संघको विधान अनुसार छ भने हामी कसैलाई पनि पूर्वाग्राही रुपले रोक्दैनौ। उहाँहरुले मिहिनेत गर्नु भएको छ। क्रिकेटमा तरंग ल्याउनु भएको छ। तर लिग कानुन बमोजिम हुनु पर्‍यो र उहाँहरुले गरेको काम वैधानिक हुनुपर्‍यो। यसअघि आइसिसीले कुनै कागजपत्र नहेरी एउटा चिठ्ठीको भरमा शूल्क लिएर स्विकृती दिएको हो। संघले अब आफ्नै फेन्चाइज क्रिकेट लिग पनि गर्छ। अन्य लिग र क्यानले गर्ने लिगको बारेमा अहिले नै टिप्पणी गर्दिन। अक्टोबर १३ मा आइसिसीबाट सुखद खबर आयो भने यहि वर्ष हामी देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाका लागि अगाडि बढ्छौं। नेपालको आधिकारिक र सबैभन्दा ठूलो लिग एनपिएल नै हुनेछ। नेपाली खेलाडी र नेपाली क्रिकेटका लागि फड्को मार्ने खालको लिग एनपिएल हुनेछ।

(नेपाल क्रिकेट संघ (क्यान)का नवनियुक्त अध्यक्ष चतुरबहादुर चन्दसँग गरिएको कुराकानीको सम्पादित अंश)