विप्लव समूहको बारुद गोदाममा प्रहरीको छापा

प्रकाशित मिति:

काठमाडौं – प्रहरीले झापामा विप्लव समूहले विस्फोटक पदार्थ भण्डारण गरेर राखेको गोदाममा छापा हानेको छ । गोदामबाट बारुदजन्य विस्फोटक पदार्थ ठूलो मात्रामा बरामद भएको छ । झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरमा भण्डारण गरेको गोदाममा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको संयुक्त टोलीले छापा हानेको हो । प्रहरीका अनुसार जुटको बोरामा लुकाईछिपाई भण्डारण गरी राखेको अवस्थामा नियोजेल लेखिएको २०५ लोला ‘हाइ एक्सप्लोसिभ’ बरामद भएको छ । झण्डै २५ किलो विस्फोटक पदार्थ विप्लव समूहले विभिन्न क्षेत्रमा विस्फोटनका लागि त्यहाँ भण्डारण गरेर राखेको एक प्रहरी अधिकारीले बताए । उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधी भनी विप्लव समूहको झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, जिल्ला इन्चार्ज सुमन सिंह पौडेल, जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टिका पोखरेलले एक महिनाअघि स्थानीयको घरमा भण्डारण गरेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार एक महिनाअघि मात्रै बरामद गरिएको विस्फोटक पदार्थ भण्डारण गरिएको थियो ।

विप्लव समूहले साउन २७ गते झापाको विर्तामोड नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को संयुक्त प्रशासनिक भवनमा विस्फोट गराएका थिए । भदौ २२ गते पनि विप्लव समूहले बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चौक उत्तर पट्टी निर्माणाधीन सहारा सहकारी कार्यालयको गेटमा रहेको सेक्युरिटि गार्ड बस्ने पोष्टमा प्रेसर कुकर बम राखी विष्फोटन गराएको प्रहरी दाबी छ । समूहले झापाका अर्जुनधारा, दमक लगायतका विभिन्न स्थानमा रहेका एनसेल टावरमा विष्फोटन र आगजनी गरेको थियो । प्रतिबन्धित विप्लव समूहको गोप्य कार्यालयमा समेत यसअघि झापा प्रहरीले छापा हानेको थियो । गोप्य कार्यालयबाट हतियार, गोली र महत्वपूर्ण गोप्य कागजात बरामद गरिएको थियो ।