जोखिममा डिजिटल बैंकिङ

प्रकाशित मिति:

काठमाडौं – चिनियाँ ह्याकरले एटीएम ह्याक गरी नेपाल र भारतबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरे । नबिल बैंकका सुरक्षागार्डको चलाखीले केही अपराधी समातिए । पाँच चिनियाँ नागरिक र एक चिनियाँमूलका फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गर्यो । नेपाल आएका दुई र भारतबाट पैसा निकाल्ने अरू थुप्रै व्यक्ति अनुसन्धानको घेरामा आउन सकेका छैनन् । यो घटनामा प्रभु बैंकले २ करोड ४५ लाख, ग्लोबल आईएमईले ४६ लाख, सनराइजले २५ लाख, माछापुच्छ«ेले २१ लाख, एनआईसी एसियाले १७ लाख, सिटिजन्सले ३ लाख ४५ हजार र जनताले २ लाख रुपैयाँ गुमाए । त्यसमध्ये १ करोड २६ लाख स्वदेशी र थप ५० लाख रुपैयाँजति विदेशी पैसा बरामद भएको छ । विगतमा पनि दर्जनौं पटक विदेशी नागरिकले नेपालका एटीएम बुथबाट पैसा चोरी गरेका थिए ।

उच्चस्तरीय प्रविधि प्रयोग गरी एकैपटक ठूलो परिमाणमा पैसा लुट्ने प्रवृत्ति देखिएको छ । साइबर सुरक्षाका जानकार विवेकशमशेर राणा हालैका घटनाबाट ‘काल पल्किएको’ आभास भएको बताउँछन् । ‘अब काल पल्किएको छ’, उनी भन्छन्, ‘हामी यसप्रति सचेत हुन जरुरी छ ।’ साइबर सुरक्षा यो दशककै जटिल समस्या बनेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गत वर्ष एक प्रतिवेदनमा हरेक वर्ष विश्वभरका बैंकले १ खर्ब डलर साइबर हमलामा गुमाउने गरेको जनाएको थियो । उक्त रकम नाफाको ९ प्रतिशत हुने आईएमएफको आँकडा छ । आजको अन्नपूर्णपोष्ट दैनिकमा यो समाचार विनय बञ्जाराले लेखेका छन् ।