जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिन्छ : पूर्वसभामुख नेम्वाङ

प्रकाशित मिति:

इलाम – पूर्वसभामुख सुवास नेम्वाङले जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिने बताएका छन् । उनले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताए । सोमबार इलाममा तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले संविधान परिवर्तनीय भएकाले कुनै पनि बेला संशोधन गर्न सकिने बताए ।

वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेता नेम्वाङले बताए । जिल्लामा विद्युत् र यातायातको सुविधा पुर्‍याउन आफू प्रयत्नशील रहेको उनले बताए । “विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन”, नेता नेम्वाङले भने, “अहिले कति विकास भएको छ आफैँ देख्न सकिन्छ ।” जिल्लाका सबै घरमा विद्युत् पुर्‍याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो ।