दोहोरो अंकले बढ्यो नेप्से, घट्यो कारोबार

प्रकाशित मिति:

काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको सुधार देखिएको छ। १० दशमलव ४२ अंकले बढेसँगै नेप्से परिसुचक १ हजार १ सय ३५ दशमलव ५६ अंकमा कायम भएको छ। परिसुचकमा सुधार देखिएपनि सोमबार कारोबार भने घटेको छ। सातामा कारोबारको पहिलो दिन आईतबार नेप्से ४ दशमलव ६६ अंकले घट्दा २४ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

तर सोमबार दोहोरो अंकको वृद्धि देखिए पनि कारोबार रकम भने १६ करोड ८८ लाख २८ हजार रुपैयाँमा खुम्चिएको छ। आज १ सय ५७ वटा कम्पनीको ६ लाख ३३ हजार ९ सय ५१ कित्ता सेयर ३ हजार ५ सय ३५ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ। सेन्सेटिभ परिसुचक पनि शुन्य दशमलव ६८ अंकले सुध्रेर २ सय ४७ दशमलव शुन्य २ अंकमा कायम भएको छ। सोमबार अन्य समूहको उपसुचक ६ दशमलव ८२ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसुचक बढेको छ। सबैभन्दा बढी जीवन बिमा समूहको उपसुचक ७१ दशमलव ६८ अंकले बढेको छ।

कारोबार रकमका आधारमा सनराइज बैंक लिमिटेड अग्रस्थानमा देखिएको छ। सोमबार सनराइज बैंकको २ करोड १३ लाख ६० हजार २ सय ६५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सबैभन्दा बढी कमाउनेमा भने युनियन हाईड्रो पावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा माउन्टेन हाईड्रो नेपाल लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन्।