९ सहसचिवको सरुवा, राजस्व अनुसन्धानका घिमिरे उद्योगमा, रुद्रसिंह तामाङ पर्यटन पुगे

प्रकाशित मिति:

काठमाडौं – सरकारले निजामती सेवाअन्तर्गत विभिन्न समूहका ९ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषदको केही दिनअघिको बैठकले काज सरुवाको निर्णय गर्दै ती सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो। संघीय सरकारले प्रदेश नं २ बाट ३ जना सहसचिवलाई काठमाडौं ल्याएको छ। उनीहरुको संवैधानिक आयोग तथा मन्त्रालयहरुमा सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव ज्ञानेन्द्र पौडेलको सरुवा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भएको छ। यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक ध्रुव घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन्।

यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ। प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत किशोरजंग कार्कीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ल्याइएको छ। राष्ट्रिय दलित आयोगमा कार्यरत सहसचिव प्रल्हादप्रसाद सापकोटालाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ।

यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव राजकुमार श्रेष्ठको सरुवा निर्वाचन आयोगमा भएको छ। प्रदेश नं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका नवराज काफ्लेलाई वन तथा वातावरण मन्त्रालयमा ल्याइएको छ। यही प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत पुष्करनाथ घिमिरेलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ल्याइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव पद्मकुमार मैनालीको सरुवा सहरी विकास मन्त्रालयमा भएको छ।