​अबको सभामुख को ? नेकपालाई सकसै सकस !

प्रकाशित मिति:

काठमाडौं – यौन दुराचार प्रकरणमा कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि अब नयाँ सभामुख को बन्ने भन्ने चर्चा सुरु भएको छ । संसदमा अहिलेको शक्ति सन्तुलन हेर्दा सभामुख नेकपाकै कुनै सांसद बन्नेमा दुईमत छैन । तर, कसलाई सभामुख बनाउने भन्नेमा भने नेकपाभित्र दुईमत हुने निश्चित छ । यसअघि पार्टी एकताका लागि शक्ति सन्तुलन मिलाउने क्रममा तत्कालीन माओवादी केन्द्रले सभामुख र तत्कालीन एमालेले उपसभामुख पाएका थिए । त्यसैअनुसार सभामुखमा कृष्णबहादुर महरा र उपसभामुखमा शिवमाया तुम्बाहम्फे निर्वाचित भएका थिए ।

तर, अब के उपसभामुख शिवमाया तुम्बाहम्फेलाई सभामुख बनाउन नेकपाभित्रको माओवादी खेमा तयार होला ? यो प्रश्नको हल नेकपाभित्र सजिलो छैन । तर, नेकपाभित्र माओवादी फेवरको या अर्को कुनै सांसदलाई सभामुख बनाउँदा पनि उपसभामुख तुम्बाहम्फेको पद पनि रहँदैन । नेपालको संविधानको धारा ९१ (२)ले एउटै दलबाट सभामुख र उपसभामुख पद लिन नपाईने व्यवस्था गरेको छ ।

यसअघि माओवादी र एमालेबाट सभामुख र उपसभामुख बनेपनि अहिले दुवै पार्टी एक भइसकेको छ । यो अवस्थामा संवैधानिक व्यवस्थाअनुसार नेकपाबाट नयाँ सभामुख बनाउँदा हालकी उपसभामुखले हात धुनुपर्ने हुन्छ । उपसभामुखमा सत्तारुढ अर्कै दलको सांसदलाई ल्याउनुपर्छ । वा हालकी उपसभामुख तुम्बाहम्फेलाई सभामुख बनाए पनि उपसभामुख अर्को दलबाट बनाउनुपर्ने हुन्छ । सत्तारुढ दल समाजवादी या अन्य पार्टीबाट उपसभामुख बन्ने अब निश्चितजस्तो छ । तर, सभामुख र उपसभामुख को बनाउने अन्तिम निर्णय प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको हातमा छ । दुई नेताबीच कुरा मिल्दा तुम्बाहम्फेले नै या नेकपाको अर्को कुनै सांसदले सभामुख पद पाउने छन् ।