नेविसंघ ३२ वर्षभन्दा माथिको उमेर समूहबाट ल्याउने मनस्थितिमा देउवा

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ समिति ३२ वर्षभन्दा माथिको उमेर समूहबाट ल्याउने मनस्थितिमा देखिएका छन् । नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले समूहनिकट विद्यार्थी नेताहरुसँग बूढानीलकण्ठस्थित निवासमा भएको छलफलमा सभापति देउवाले ३२ वर्षभन्दा माथिको उमेर समूहबाट तदर्थ समिति ल्याउने संकेत गरेका हुन् । केही निवर्तमान केन्द्रीय सदस्यहरुसँगै अन्य विद्यार्थी नेताहरुका साथ बूढानीलकण्ठ पुगेका काफ्ले समूहनिकट मानिने निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले सभापति देउवा तदर्थ समितिको नेतृत्व ३२ वर्षभन्दा माथिको उमेर समूहबाट ल्याउने मनस्थितिमा पाएको प्रतिक्रिया दिए ।

निवर्तमान सदस्यहरु भट्ट, रत्नहरि ढुंगेल, नवराज त्रिपाठी, शैलेश शर्मा, विद्यार्थी नेताहरु निरञ्जल थापा, तपेन्द्र खड्कालगायतले सभापति देउवासँग नेविसंघको विधानमा ३२ वर्षीय उमेर हद लागू गरिसकिएको स्मरण गराउँदै तदर्थ समिति पनि ३२ वर्ष मुनीको उमेर समूहबाटै ल्याउन आग्रह गरेका थिए । जवाफमा सभापति देउवाले आगामी महाधिवेशनबाट विधान लागू हुने र तत्काल ३२ वर्षभन्दा माथिको उमेर समूहबाट पनि तदर्थ समिति गठन गर्न सकिने प्रतिक्रिया दिएको बताइएको छ । “हामीले सभापतिज्यूसँग ३२ वर्ष मुनीबाट तदर्थ समिति गठनको माग गर्यौं । तर, उहाँले उमेर हद आगामी महाधिवेशनबाट लागू हुने र अहिले तदर्थ समिति माथिबाट पनि ल्याउन सकिने भन्नुभयो,” निवर्तमान केन्द्रीय सदस्य भट्टले भने ।

सभापति देउवाको कुरा सुनिसकेपछि आफूहरुले ३२ वर्षभन्दा माथिको उमेर समूहबाट तदर्थ समिति गठन भए आमरण अनशनमा बस्ने चेतावनी दिएको उनको भनाइ थियो । विद्यार्थीहरुले आमरण अनशन बस्ने बताएपछि सभापति देउवाले आक्रोश पोखेको भेटमा सहभागीहरुले बताएका छन् । “हामीले आमरण अनशन बस्ने भनेपछि सभापतिज्यू जंगिनुभयो । उहाँले त हामीलाई जाऊ अहिले नै अनशन बस सम्म भन्नुभयो,” भेटमा सहभागी एक विद्यार्थी नेताले भने । गत माघमा विघटन भएको नेविसंघको केन्द्रीय कार्यसमिति नेताहरुको खिचातानीका कारण अझै गठन हुन सकेको छैन । कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघको तदर्थ समिति गठन गर्ने सम्पूर्ण अधिकार सभापति देउवालाई दिएको छ ।