आजबाट ३२ जिल्लामा फोरजी सेवा, प्रधानमन्त्रीले शुभारम्भ गर्ने

प्रकाशित मिति:

काठमाडौं – नेपाल टेलिकमले आज सातवटै प्रदेशका ३२ जिल्लामा फोरजी सेवा विस्तार गर्दै छ । नेपाल टेलिकमले महत्त्वकांक्षी फोर जीरएलटीई सेवाको नेटवर्क आजदेखि विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवा विस्तारको बुधबार औपचारिक रूपमा शुभारम्भ गर्दैछन् । बुधबार साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको नेपाल टेलिकमले जनाएको छ ।नेपाल टेलिकमले फोरजी सेवा विस्तारसँगै ग्राहकलाई आकर्षक इन्टरनेट प्याकेज उपलब्ध गराउने भएको छ । यसअघि फोर जी सेवा काठमाडौं र पोखरामा मात्र थियो ।

फोर जी सेवा विस्तार भएपछि सेवाग्राहीहरुले साविकको मूल्यमा दोब्बर डाटा पाउने टेलिकमले जनाएको छ । यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिने टेलिकमले जनाएको छ । वैद्यका अनुसार अब टेलिकमका ग्राहकहरुले जम्मा २५ रुपैयाँमा ४०० एमबी डाटा पाउने छन् । यसअघि टेलिकमले २५ रुपैयाँमा जम्मा २ सय एमबी डाटा दिन्थ्यो । यो प्याकेज लिएको २४ घण्टासम्म प्रयोग गर्न सकिनेछ । यसैगरी जम्मा १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनसस्वरुप प्राप्त हुनेछ । यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ । साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ ।

यी तीनवटै डाटा प्याकेजहरु एनटी फोरजी एलटीइ अफरका रुपमा कम्पनीका फोरजी ग्राहकहरुले १५ असोज २०७६ देखि अर्को सूचना जारी नभएसम्म जारी रहने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले देशमै पहिलो पटक वि.सं. २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजीरएलटीई सेवाको शुरुवात गरेको थियो । बुधबारबाट यो सेवा ३२ जिल्लामा विस्तार गरिएको छ । यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह सहज हुने नेपाल टेलिकमको दाबी छ । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा नेपाल टेलिकमले राखेको छ । हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजीरएलटीई सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै वस्तीहरुमा सेवा पुर्‍याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुने टेलिकमको विश्वास छ ।