डा. भट्टराई भन्छन – सत्तामा पुगेपछि अपराध लुकाउने हो भने त्यत्रो बलिदानको के अर्थ ?

प्रकाशित मिति:

काठमाडौं –  पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पुराना सत्ताहरूले जस्तै अहिलेका सत्ताशक्तिले पनि हर्कत गरे पहिलेकाे बलिदानकाे अर्थ नहुने बताउनु भएकाे छ । समाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले सत्ताशक्ति र धनको बलमा बलात्कार, हत्या जस्ता जघन्य अपराधहरू लुकाउने काम गरे हिजोका क्रान्तिकारीहरूले गरेकाे बलिदानकाे अर्थ नहुने बताउनु भएकाे हाे ।

उहाँले सत्ताशक्ति र धनको बलमा बलात्कार/हत्या जस्ता जघन्य अपराधहरू लुकाउने काम पुराना सत्ताहरूले गर्ने गरेकाे पनि बताउनुभएकाे छ । उहाँले रातो झण्डा ओढ्दैमा असत्य र अन्याय नटिक्ने समेत बताउनु भएकाे छ । उहाँ लेख्नु हुन्छ- ‘सत्ता शक्ति र धनको बलमा बलात्कार,हत्या जस्ता जघन्य अपराधहरू लुकाउने काम पुराना सत्ताहरूले त गरिरहेकै हुन्। तर अब हिजोका क्रान्तिकारी कमरेडहरूले पनि सत्तामा पुगेपछि त्यही हर्कत गर्ने हो भने त्यत्रो बलिदानको के अर्थ रह्ये ? रातो झन्डा ओढ्दैमा असत्य र अन्याय टिक्दैन! सबैलाई चेतना भया!’

डा. भट्टराईले ‘महरा प्रकरण’ मीटू अभियान जस्तै नहोस् भन्दै दोषीलाई कारबाहीको माग पनि गर्नुभएकाे छ । मीटू आरोपीहरु कोही पनि दण्डित नभएको उल्लेख गर्दै डा. भट्टराईले लेख्नुभएकाे छ, ‘महरा प्रकरण पनि त्यस्तै फासफुस नहोस् ।’ ‘सभामुख महराको राजीनामापछि यो बलात्कारकाण्डको स्वतन्त्र, निष्पक्ष छानबिन् होस् र कानून अनुसार न्याय निरूपण होस्, विगतमा महिला–दलितमाथि हुने गरेका अपराधमा निष्पक्ष छानबिन र कारबाही भएका छैनन् मीटू अभियानका आरोपीहरू कोही पनि दण्डित भएका छैनन् महरा प्रकरण पनि त्यस्तै फासफुस नहोस्’, डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्नु भएकाे छ ।