ट्रम्पले भने– ममाथि महाअभियोग होइन, ‘कू’ प्रयास

प्रकाशित मिति:

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट पार्टीका तर्फबाट आफूमाथि महाअभियोग होइन, ‘कू’ गर्ने प्रयास भएको जनाएका छन् । उनले आफूले हरेक दिन धेरै भन्दा धेरै कुरा थाहा पाइरहेको र त्यसरी हेर्दा यो महाअभियोग नभई ‘कू’ भएको राष्ट्रपतिले ट्विट गर्दै भनेका छन् । आफूले शक्तिको दुरुपयोग गरेको भनेर छानबिन गर्नु भनेको जनताको शक्ति, मत तथा उनीहरुको स्वतन्त्रता खोस्ने प्रयास भएके समेत जनाएका छन् । ट्रम्पले गएको सोमबार संसदको गुप्तचर मामिला सम्बन्धी समितिका सभापति आडम स्किफलाई पक्राउ गर्नुपर्ने अभिव्यक्ति समेत दिएका थिए ।

उनको बारेमा उजुरी दिने व्यक्तिलाई पनि आफूले भेट्न चाहेको राष्ट्रपति ट्रम्पले जनाएका थिए । गुप्तचरका एक व्यक्तिको उजुरीका आधारमा नै राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई गरेको फोन कलको विवरण सार्वजनिक गर्नुपरेको थियो । सो विवरण उजुरीसँग पुष्टिसमेत भएको थियो । अहिले राष्ट्रपति ट्रम्पमाथिको महाअभियोगको प्रक्रिया संसदमा चलिरहेको छ । – (द हिल)