संसदको वेबसाइटबाट हटाइयो महराको फोटो

प्रकाशित मिति:

काठमाडौं – यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको फोटो फोटो प्रतिनिधि सभाको साइटबाट हटाइएको छ। आरोप लागेपछि महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिएका थिए।

‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ राजीनामापत्रमा भनिएको छ। उनको राजीनामा बुधबार स्वीकृत भएको छ। प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ (२) बमोजिम उपसभामुखको आदेश अनुसार महराको राजीनामा बारेको जानकारी सूचनापत्रमा प्रकाशन गरिएको हो।

प्रतिनिधिसभा सचिवालय सचिव डा भरतराज पौडेलले सूचना प्रकाशित गरी राजीनामा स्वीकृत भएको जानकारी गराएका हुन्। तर, महराको राजीनामामा रहेको ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने वाक्यांश सूचनापत्रमा भने हटाइएको छ। मंगलबार राजीनामा पत्र सार्वजनिक भएसँगै यो वाक्यांश विवादित भएको थियो । – नेपाललाइभ