स्क्रब टाइफसबाट २ जनाको मृत्यु, ९९ जना सङक्रमण

प्रकाशित मिति:

चितवन – चितवन जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो । स्क्रब टाइफसका कारण मृत्यु भएकामा एक जना गैंँडाकोटकी महिला र एकजना रौतहटका पुरुष रहेको केसीले जानकारी दिए । जिल्लाका अस्पतालमा उपचार गराउन आउनेमा चितवनसहित नवलपरासी, तनहुँ, गोर्खा, मकवानपुर, धादिङ्, रौतहट, बारालगायका जिल्लाका रहेका छन् । स्क्रब टाइफस ओरीएण्टा सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइटस)लाई सङ्क्रमणमा पार्दछ ।

ती सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्न रुचाउने गर्दछन् । यी सङ्क्रमित किर्ना बोकेका मुसा, जनावर मानिसको सम्पर्कमा आएपछि मानव शरीमा टाँसिएर टोक्ने केसीले जानकारी दिए । यसबाहेक, ग्रामीण भेगमा झारपात र झाडीमा सङ्क्रमित किर्ना प्रशस्त हुन्छन् । ग्रामीण भेगका किसानलाई प्रत्यक्ष रुपले यी किर्नाले टोकेमा स्क्रब टाइफस रोग सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।

गर्भवतीले स्क्रब टाइफसबाट सङ्क्रमित भए उनकोे गर्भाशय रहेको शिशु अङ्गभङ्ग हुने सम्भावना रहेकाले यस सम्बन्धी परामर्श लिनुपर्ने चिकित्सकको सुझाव छ । आर्थिक वर्ष २०७४-७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो । यस्तै डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या तीन हजार ६६९ जना पुगेको छ । केसीका अनुसार ११ हजार ९२७ जनामा परीक्षण गरिएको थियो । भदौको तेस्रो र चौथो साता निकै बढेको सङ्क्रमण विस्तारै घट्दै गएको छ । डेङ्गुबाट जिल्लामा दुई जनाको मृत्यु भएको छ । डेङ्ग एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । – रासस