नेपालमै काम गरे के हुन्न ? युवकको कृषिकर्म जसले एक बर्षमै डेढ करोड कमाउँ छन्

१६ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
96 Shares


व्यवस्थापन विषयमा स्नातक गरेका पाल्पाका एक युवकले छोटो अवधिमै सफल र आधुनिक किसानको पहिचान बनाएका छन् । उनी हुन्, रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वर अर्चलेका २९ वर्षीय सुदर्शन पन्त । उनले पढाइ सकेपछि राम्रो जागिर खोजेनन् । बरु गाउँमै फर्केर व्यावसायिक तरकारी खेती सुरु गरे । ७० रोपनी जग्गामा गरिएको तरकारी खेतीबाट उनले वार्षिक डेढ करोडको कारोबार गर्छन् । उनले मनग्गे आम्दानीमात्र गरेका छैनन्, धेरै जनाको प्रेरणाको स्रोत पनि बनेका छन् उनी ।२०६९ सालमा २५ रोपनी बारीमा परम्परागत तरिकाले तरकारी खेती शुरु गरेका पन्तले अहिले इजरायली प्रविधि ड्रिप एण्ड मल्चिङ र एन्टी हेल स्टोन नेट हाउस प्रविधिमा तरकारी खेती गर्दै आएका छन् । हाल ७० रोपनीमा विस्तार भएको उनको एकल स्वामित्वको एभरग्रीन एग्रो फार्ममा अहिलेसम्म एक करोड रुपैयाँ बढी लगानी भएको पन्त बताउँछन् ।पाल्पा सदमुकाम तानसेनबाट ४० किलोमिटर पश्चिममा रहेको पन्तको फार्म खासगरी बेमौसममा सबैभन्दा धेरै क्याप्सिकम भेंडे खुर्सानी उत्पादन गर्ने फार्मको रुपमा चिनिन्छ ।भेंडे खुर्सानीको बेमौसमी खेती समुन्द्र सतहबाट ८ सय मिटरदेखि दुई हजार मिटर उचाइ भएको जग्गामा बाह्रै महिना गर्न सकिन्छ । मौसमी खेती भने तराईमा पनि गर्न सकिन्छ । हाल चितवन, मकवानपुरको पालुङ र सल्यानको कपुरकोटमा व्यवसायिक रुपमा यसको खेती भइरहेको छ ।पन्तले आफ्नो फार्ममा दैनिक सरदर दुई टनको दरले भेंडे खुर्सानी उत्पादन हुने र वर्षमा कम्तीमा डेढ करोड रुपैयाँको बिक्री गरेको सुनाए । ‘वैशाखदेखि भदौसम्मको अफ सिजनमा फार्मले उत्पादन दिन्छ,’ पन्तले अनलाइनखबरसँग भने, ‘त्यसपछि सोही बारीमा गोलभेंडा, सिमी, बोडी, करेला, काँक्रो खेती शुरु हुन्छ ।’ पन्तले एक सिजनमा ४० हजार बोट गोलभेंडाका बिरुवा लगाउने गरेको बताए । पानी लिफ्टिङ र रोप-वे निर्माण-ढुवानीका लागि बनाइएको रोप-वे

एन्टी हेलस्टोन नेट हाउसले भारी वर्षा र असिनाबाट तरकारीमा क्षति हुनबाट जोगाउने सन्चालक पन्तले बताए । तरकारी खेतीमा सिंचाइका लागि उनले ३ सय ५० मिटर तलबाट पानी लिफ्टिङ गरेर लगेका छन्, जसबाट थोपा सिंचाइ गरिन्छ भने फार्मसम्म सडकको पहुँ नभएकाले निजी १० लाख रुपैयाँ लगानीमा रोप-वे बनाएका छन् ।बुटवलको न्यू होराइजन क्याम्पसमा स्नातक पढ्दा सबैजसो तरकारी भारतबाट आउने र अधिकांश किनेर खानुपरेको अनुभवले पढाइपछि गाउँमै केही गर्नुपर्छ भन्ने लागेर व्यवसायिक तरकारी खेतीमा लगानी गरेको पन्तले खुलाए । ‘शुरुमा परम्परागत तरिकाले खेती गर्दा सफल नभएपछि साउदी अरब गएर एकाउन्टेन्टको जागिर पनि गरें, तर फेरि फर्केर भारतको महाराष्ट्र पुगेर १५ दिन अध्ययन गरेर आएपछि इजरायली प्रविधिमा खेती गरेको हुँ,’ पन्तले भने, ‘अहिले प्रविधिको हिसाबले कुनै समस्या छैन ।’पन्तले फार्ममा उत्पादित भेंडे खुर्सानी प्याकेजिङ गरेर बुटवलस्थित कृषि उपज थोक बजार केन्द्रसम्म पुर्‍याउँछन् । बेमौसममा उनको फार्मको उत्पादनले बुटवलको ७० प्रतिशत बजार हिस्सा ओगट्ने पन्तको दावी छ । ‘मेरो फार्ममा बिचौलियालाई छिर्न दिएको छैन, जसले गर्दा उपभोक्तालाई राहत भएको छ,’ पन्तले भने ।स्थानीय २५ जनालाई रोजगारी दिएका पन्तले शुरुका केही वर्ष घाटा ब्यहोरे पनि पछिल्लो वर्षबाट वार्षिक ३५ लाख रूपैयाँसम्म खुद नाफा गर्न थालेको बताए । ‘अरु बाली लगाउँदा वर्षमा पाँच-सात लाख रुपैयाँ मुस्किलले आम्दानी हुने बारीमा अहिले डेढ करोड रुपैयाँको उत्पादन हुन्छ,’ पन्तले भने, ‘केही नयाँ गर्छु भन्ने अठोट र लगनशीलता हुने हो भने पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन ।’ सुदर्शन पन्त=बेमौसमी तरकारी उत्पादनमा नमूना बनेको पन्तको फार्मलाई प्रदेश सरकारले १० लाख रूपैयाँ अनुदान दिएको छ । सरकारी अनुदान र नाफाबाट हौसिएका पन्तले फार्मलाई दुई सय रोपनीमा विस्तार गर्न चाहे पनि जग्गा नपाएर खुम्चिनुपरेको दुखेसो सुनाए ।अब जग्गा पनि सरकारले उपलब्ध गराइदियोस् भन्ने उनको अपेक्षा छ । ‘जग्गा पाउने हो भने दुई सय रोपनीसम्म विस्तार गर्ने योजना छ,’ पन्तले भने, ‘तर जग्गा पाइएको छैन, जग्गा उपलब्ध गराउन सरकारले सहयोग गरोस् ।’ दुई सय रोपनीमा खेती गरेर विदेश निर्यात गर्ने लक्ष्यसमेत रहेको पन्तले बताए ।

‘सरकारी नीति किसानमैत्री भएन’=सरकारका नीति नियमहरु किसानमैत्री नभएको पन्त गुनासो गर्छन् । विशेषगरी ठूला लगानी र आधुनिक प्रविधि प्रयोग गरेर व्यावसायिक खेती गर्ने किसानहरुलाई प्रोत्साहन हुने गरी नीति निर्माण तथा आधुनिक प्रविधि र समयसापेक्ष प्रशिक्षण दिने कुरामा सरकार चुकेको उनको ठम्याइ छ ।नेपाली उत्पादनले बजारको माग धान्ने सिजनमा विदेशबाट हुने आयातलाई रोक्ने नीति बनाएमात्रै स्वदेशी किसानले राहत महसुस गर्ने पन्तले सुझाए ।व्यवसायिक तरकारी खेतीका लागि नभई नहुने लिक्वीड फर्टिलाइजरको वैध आयात नहुँदा चर्को मूल्यमा किन्न बाध्य भएको गुनासो उनले गरे । ‘सरकार एकातिर व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने भन्छ, अर्कोतिर यसका लागि नभई नहुने लिक्वीड फर्टिलाइजरको वैध आयात हुन दिँदैन,’ पन्तले भने, ‘यस्तो विरोधाभासपूर्ण नीति अन्त्य हुनुपर्छ ।’भारतमा ६० रुपैयाँ पर्ने एक किलोग्राम लिक्वीड फर्टिलाइजरलाई नेपालमा ६ सय रुपैयाँसम्ममा किन्नुपरेको उनको दावी छ । उनले वर्षमा २० क्वीन्टल लिक्वीड फर्टिलाइजर किन्ने गरेको सुनाए ।सरकारी अनुदान वितरण पनि वैज्ञानिक नभएको उनको धारणा छ । यसबाट वास्तविक किसानहरु निराश हुने गरेको पन्त बताउँछन् । उत्पादनको मात्रा र उत्पादन लागत मूल्यलाई आधार बनाएर मात्र अनुदान दिनुपर्ने उनको माग छ । ‘अझै पनि सरकार निकटका मान्छेले फर्जी कागजपत्र मिलाएर अनुदान लिने परिपाटी हटेको छैन, यसले वास्तविक किसानहरु निरुत्साहित भइरहेका छन्,’ पन्तले भने ।तरकारीमा विषादीको प्रयोगको विषयमा पनि सरकारको प्रचार गलत भएको उनको बुझाइ छ । विषादीविना व्यवसायिक खेती गर्नै नसकिने भन्दै पन्तले सरकारले विषादीको सही प्रयोगबारे जनचेतना जगाउने काम नगरेको गुनासो गरे ।नेपाली युवाले बिदेशमा जति नै दुख गर्नुहुन्छ त्यसको पारिश्रमिक निकै कम्ति पाउनु हुन्छ  किनकी बिदेशमा दुख बढी छ सोहि किसिमको पारिश्रमिक छैन तर त्यहि दुख नेपालमा गर्ने हो भने करोडपति हुने वा पैसा कमाउने सपना नेपालमै बसेर गर्न सकिन्छ भन्ने राम्रो उदाहरण हो यो तरकारी खेति  यो समयभित्र बिदेशमा निकै दुख कडा परिश्रम अनि बिरोनो देश भन्दा आफ्नै स्वर्ग जस्तो देशमा रमाउन सिक्नुपर्छ आम नेपाली युवा जगतले

फेसबुकबाट तपाईको प्रतिक्रिया