महरा प्रकरण : रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध बिच्छेद गर्ने सहमति

प्रकाशित मिति:

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने महिला रोशनी शाहीले उनका श्रीमान चित्रजंग शाहीसँग डिभोर्स गर्ने सहमति गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ‘२८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको’ भन्दै चित्रजंग शाहीले जानकारी गराएका छन् । रोशनी र आफूले हस्ताक्षर गरेको एउटा सहमति पत्र पनि उनले सार्वजनिक गरेका छन् । ‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं,’ उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको पत्रमा भनिएको छ । यसका लागि कानुनी प्रक्रिया पनि सुरू गरिएकाे जानकारी दिइएकाे छ ।

रोशनी शाहीले आफूमाथि महराले बलात्कार गरेको भन्दै मिडियामार्फत् सार्वजनिक राेइलाे गरेकी थिइन् । आइतबार राति उनको कोठामा गएर महराले बलात्कारको प्रयास गरेको राेशनीले दाबी गरेकी थिइन् । तर घटनाकाे पर्सिपल्टबाटै उनले बयान फेरिकी छिन् र प्रहरीमा उल्टै महरालाइ बचाउन निवेदन हालेकी छिन् । महरामाथि बलात्कारकाे आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएकाे महराले बताएका थिए । तर, महराकाे राजीनामापछि राेशनीले आफ्नै आरोपको खण्डन हुनेगरी ‘महरा आफ्नो बाबुसमानको व्यक्ति भएको’ भन्दै कुनै बलात्कार नभएको दाबी गरेपछि याे केस अप्ठेराेमा परेकाे छ । रोशनी बुधबारमात्रै आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन समेत दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएपछि महराविरूद्धका सम्भावित प्रमाण संकलन गरिसकेकाे प्रहरीका लागि अनुसन्धानकाे बाटाे नै बन्द भएकाे ठहर गरिएकाे छ ।