विकासको अभियानमा मिलेर अघी बढौँ : महासचिव पौडेल

१६ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
29 Shares

File

बुटवल – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको अभियानमा मिलेर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको छ । बुटवल उपमहानगरपालिका–१३ मा निर्मित जितेश्वरी मन्दिर तथा सभाहलको आज उद्घाटन गर्दै उहाँले सामाजिक कार्यमा जस्तै विकासका काममा समेत सहकार्य गर्न आग्रह गर्नुभयो । विकासलाई अगाडि बढाउन सहयोग मिल्ने धारणा राख्नुभयो । महासचिव पौडेलले बुटवलको सामाजिक, आर्थिक, भौतिक तथा सबै प्रकारका विकासमा साथ र समर्थन रहने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले तीनाउपारीका क्षेत्रको विकासका लागि तिनाउ–दानव करिडोर निर्माणको योजना बनाएको बताउँदै यो योजना समयमै सम्पन्न गर्न स्थानीयको सक्रियता हुनुपर्ने बताउनुभयो ।

“यो करिडोर तिनाउ र दानव नदीको दोभानबाट शुरु भएर लुम्बिनी जाने सडकसम्म जोडिन्छ ।” उहाँले भन्नुभयो । आफ्नो क्षेत्रको विकासमा चासो र सक्रियता बढाउँदै गए योजना प्नि समयमै सकिने उहाँको भनाइ थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरेले स्थानीयको सक्रियतामा मन्दिर निर्माण गरेको बताउनुभयो । उहाँले मन्दिर र सभाहलको निर्माणपछि वडाका धार्मिक गतिविधि सञ्चालनका लागि सहज हुनेछ भन्नुभयो । जितेश्वरी आमा समूहका अध्यक्ष मन्दिरा गौडेलले धर्मले मानिसलाई सही आचरणमा रहन सिकाउने हुँदा वडामा धार्मिक गतिविधिलाई बढावा दिएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया