बुटवल – बुटवलमा सञ्चालन भैरहेको दशैं सस्तो बजारमा उपभोक्ताको घुइचो बढेको छ । बुटवल उद्योग बाणिज्य संघले चलाएको सस्तो बजारमा ३० प्रतिशतसम्म छुट दिएपछि उपभोक्ताको भीड लागेको हो । एकैदिनमा मात्रै १५ लाखको कारोवार भएको छ । एकैदिनमा ५ हजार उपभोक्ता मेलामा पुगेका छन् । दशैं सस्तो बजारमा ३० वटा स्टल रहेको र ती स्टलमा सरदर ५० हजार रुपैंयाका दरले सामान खरिद बिक्रि भईरहेको दशैं सस्तो बजार समितिका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य बसन्तप्रसाद ढकालले जानकारी दिए । दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुमा उपभोक्ताको भिड छ ।
त्यस्तै नयाँ नोट साट्नकालागि पनि सर्वसाधारणको भिड बढेको छ । नेपाल राष्ट्र बैंकको सहयोगमा बुटवल उद्योग बाणिज्य संघले नयाँ नोट सटहीको व्यबस्था मिलाएको छ । संघले दैनिक प्रतिव्यक्ति ५ हजार ५ सय रुपैंयाका दरले २ सय जनालाई नयाँ नोट सटहीको व्यबस्था मिलाएको छ भने ३ सय जनालाई नयाँ नोट सटही गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिए । नयाँ नोट सटहीकालागि ग्लोवल आईएमई बैंकले सहयोग गरेको छ । दशैं सस्तो बजारमा मंगलबारदेखि छपियाको माछा बिक्रि वितरण गरिएको छ भने बुधबारदेखि जुम्लाको स्याउ समेत बिक्रि वितरण गरिएको छ । त्यस्तै लोकल कुखुरा, टर्की, कुखुराको अण्डा समेत सुलभ मुल्यमा बिक्रि वितरण गरिएको छ ।
दशैं सस्तो बजारमा साल्ट ट्रेडिङ्ले चिनी नुन, डिडिसीले दुग्धजन्य उत्पादन तथा अन्य स्टलहरुमा तेल, चिया, साबुन, मसला लगायतका दैनिक उपभोग्य बस्तुहरुको सुलभ मुल्यमा बिक्रि वितरण भईरहेको बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष बिमलराज भट्टराईले बताए । उनले दशैं सस्तो बजारमा राखिएका सामग्रिहरु सस्तो मात्रै नभएर गुणस्तरीय पनि भएकाले संघले सञ्चालन गरेको बजारको फाईदा लिन सबैलाई आग्रह गरे । यहि असोजको १२ गते घटस्थापनादेखि सुरु भएको दशैं सस्तो बजार यहि असोजको १७ गतेसम्म सञ्चालन गरिने छ ।