महरा प्रकरणमा मन्त्री बाँस्कोटा यसो भन्छन – ‘व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले बोक्दैन’

प्रकाशित मिति:

काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले नबोक्ने तर्क गरेका छन् ।यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको नाम उच्चारण नगरी उनले व्यक्तिको गल्तीहरु पार्टीमा ल्याएर जोड्न नहुने बताए । नेकपा बनेपा नगर कमिटीले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संघीय सरकारका प्रवक्ता रहेका मन्त्री बाँस्कोटाले गल्ती गर्नेले नै कारबाही बोहोर्नुपर्ने तर्क गरे। ‘व्यक्तिले कहाँ भ्रष्टाचार गर्छ, त्यो पनि पार्टीले गर्‍यो त?, त्यही व्यक्तिलाई कारबाही हुनुपर्छ,’ व्यक्तिको नाम नलिइकन उनले भने, ‘कहिलेकाहीं गएर नचाहिएको काम गर्ला, हुलहुज्जत गर्ला, इज्जत खेलवाड गर्ला, त्यो उही जिम्मेवार हो नि, हामीलाई के मतलव?’

कम्युनिष्ट पार्टी चरित्र र सम्मानसहितको पार्टी भएको भन्दै उनले चिन्तित र तरगिंत नहुन कार्यकर्ताहरुलाई अनुरोध गरे। ‘यस्ता घटनाहरु समाजमा भइरहन्छन्, समाजमा राम्रा मान्छे पनि हुन्छन्, नराम्रा मान्छे पनि हुन्छन्,’ कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने, ‘नराम्रा पाखा लाग्छन्, राम्रा मान्छे कम्युनिष्ट पार्टीमा, कमिटीमा। यसमा धेरै चिन्तित हुनै पर्दैन, त्यही हो कुरा।’  – ईकान्तिपुर