उपसभामुखलाई राजीनामा गराउने नेकपाको तयारी

प्रकाशित मिति:

काठमाडौं – सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पद नछाड्ने भएको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पद जोगाउने खेलमा नेकपा लागेको हो । यौन दुर्व्यवहार–दूराचारको आरोप लागेपछि महरालाई नेकपा सचिवालयले सभामुख र संसद् सदस्य दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । संविधानको धारा–९१ मा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधान छ । प्रतिनिधिसभामा अहिले सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाउँदै आएको छ । र, अदालतमा मुद्दा पनि विचाराधीन छ ।

तर, नेकपाले उमेदवार भई निर्वाचित हुँदाका बखत फरकफरक पार्टीको रहेको र सम्बन्धित पदमा चुनिइसकेपछि दलको सदस्य नरहेकाले एउटै पार्टीको भन्न नमिल्ने जिकिर गर्दै आइरहेको थियो । रिक्त सभामुख पदमा उमेदवारी दिन नेकपालाई संवैधानिक अड्चन छ । यसर्थ उपसभामुख तुम्बाहाम्फेलाई समेत राजीनामा गराएर सभामुख आफैँसँग राख्ने तयारी रहेको नेकपाका एक नेताले जानकारी दिए । उपसभामुख भने सत्तामै रहेको समाजवादी पार्टी, नेपाल नभए राष्ट्रिय जनता पार्टीलाई दिने सम्भावना रहेको स्रोत बताउँछ ।

उपसभामुखले कसलाई बुझाउने राजीनामा ? महराले पदबाट राजीनामा दिएर सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरिसकेकाले संसद् सभामुखविहीन रहेको तर्क एकाथरी कानुनवेत्ताहरूको छ । र, तुम्बाहाम्फेले राजीनामा गर्न नमिल्ने मत उनीहरूले राख्दै आएका छन् ।तर संविधानसभाका पूर्वअध्यक्ष, एवम् पूर्वसभामुख सुवास नेम्वाङ सभामुख रिक्त रहे पनि पद रिक्त नहुने तर्क गर्छन् । महराले सभामुख पदबाट राजीनामा दिएको तर संसदमा सभामुख पद रहिरहेको अर्थमा बुझ्नुपर्ने उनको तर्क छ ।

“संसद् नियमावलीमा उपसभामुखले सभामुखलाई सम्बोधन गरी राजीनामा दिने व्यवस्था छ । सभामुख पदमा बहाल हुनुपर्छ भन्ने व्यवस्था त छैन । सभामुख पद हो, जुन संसद्मा बहाल छ । अतः त्यो पदलाई सम्बोधन गरेर उपसभामुखले राजीनामा दिने । उपसभामुखले राजीनामा दिएपछि संसद्को ज्येष्ठ सदस्यले संसद् सञ्चालनको जिम्मा लिन्छ । उपसभामुखको राजीनामा पढेर सुनाउँछ । उपसभामुखको पद रिक्त हुन्छ । र, सभामुख, उपसभामुख दुवैको निर्वाचनको बाटो खुल्छ,” उनी भन्छन् । उनले उपसभामुखको राजीनामामा कुनै द्विविधा पाल्नुनपर्ने जिकिर गरे । नेकपावृत्तमा सभामुख पद रिक्त भएसँगै नयाँ सभामुखको चर्चा पनि चुलिएको छ । पार्टी एकीकरणपूर्ण सभामुख माओवादी केन्द्रले पाएकाले अहिले पनि पूर्वमाओवादी केन्द्रले नै दाबी गरिरहेको छ । पूर्वसभामुख ओनसरी घर्ती, प्रमुख सचेतक देव गुरुङको चर्चा छ । माओवादी केन्द्रकी प्रवक्ता रहिसकेकी पम्फा भुसाललाई बनाउनु पर्ने पनि केहीको मत छ । पूर्वएमालेले राख्ने सहमति भएमा सुवास नेम्वाङ नै बन्ने सम्भावना पनि रहेको स्रोत बताउँछ । नेम्वाङ यसअघि पाँचपटक सभामुख बनिसकेका छन् । यो खबर अक्षर काकाले बाह्रखरीमा लेखेका छन ।