रानीगन्जमा पांच करोड लगानीमा पेट्रोलपम्प संचालन

 ‘चर्काे करले व्यवसायिक वातावरण भएन’

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल –  व्यावसायी र दलका नेताहरुले चर्को करका कारण मुलुकमा व्यवासायिक वातावरण नभएको गुनासो गरेका छन् । खासगरी स्थानीय तहहरुले लगाउने चर्को करका कारण व्यवसायमैत्री वातावरण बन्न नसकेको उनीहरुको भनाई छ । बेलबास–बेथरी सडक खण्डको रानीगन्जमा पांच करोड लागतमा सञ्चालनमा आएको नमूना पेट्रोल पम्पको उद्घाटन गर्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले स्थानीय तहहरुले व्यवसायीमाथि अनेक नाममा कर असुल्ने गरेकाले व्यवसायीहरु निराश बन्दै गएको बताए । ‘सानादेखि ठूला व्यवसायीहरु करको मारमा परेका छन्’–न्यौपानेले भने–‘तीन तहका सरकार बनेपछि चर्को करकै कारण कैयौं व्यवासयीहरु विस्थापित र पलायन भइसकेका छन् ।’

पेट्रोलियम व्यवसायमा दुई दशमलव ६५ प्रतिशत मात्र कमिसन रकम हुने र ढुवानी गर्दा करिब एक प्रतिशत नोक्सान हुने भएकाले यो व्यवसायमा सरकारले कमिसन रकम बढाउनुपर्ने उनले माग गरे । आफूले चाहेको गाडीमा इन्धन ढुवानी गर्न समेत नपाइने अवस्थाले व्यवसायीहरु नोक्सान व्यहोर्न वाध्य भएको उनले बताए ।  नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले सरकार र दलहरुले व्यवसायिक वातावरण बनाउन नसक्दा हरेक क्षेत्रमा मन्दी आएको औंल्याए ।

उनले एउटा व्यवसायका कारण रोजगारीसंगै त्यससंग सम्बन्धित अरु व्यवसाय पनि सञ्चालनमा आउने भएकाले सरकार र प्रमुख दलहरुले व्यवसायिक वातावरण बनाउनुपर्नेमा जोड दिए । नेता पाण्डेले बेलबास बेथरी सडक वजेट अभावका कारण निर्माणमा सुस्तता आएको भन्दै छिटो निर्माण गर्नेतर्फ सरकारको धयान जानुपर्ने बताए ।  साहारा इन्टरप्राइजेजद्वारा सञ्चालित पम्पका सञ्चालक भीमप्रसाद न्यौपानेले बेलबासबाट नहरपूर र रानीगञ्ज हुंदै बेथरी–लुम्बिनी चल्ने सवारी साधनलाई लक्षित गरी पम्प सञ्चालनमा ल्याइएको बताए । उनले गुणस्तरीय र शुद्धतामा सम्झौता नगर्ने बताए । डिजलका दुई र पेट्रोलका दुई गरी चारवटा मेसिन जडान गरिएको पम्पमा एकपटकमा आठवटा सवारी साधनले इन्धन भर्न सक्ने पम्पका प्रबन्ध निर्देशक टंक न्यौपानेले बताए । कार्यक्रमको सञ्चालन खेमराज भुर्तेलले गरेका थिए ।