पत्रकार शिवाकोटीविरुद्ध परिचालितहरुको पहिचान

प्रकाशित मिति:

काठमाडौ – निवर्तमान सभामुख कृष्णबहादुर महराको यौन हिंसा सम्वन्धी समाचार सार्वजनिक गर्ने हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीका विरुद्ध परिचालन गरिएकाहरुको पहिचान भएको छ । यौन हिंसाको आरोपपछि पदमुक्त भएका महराले नै उनीहरुलाई परिचालन गरेको पूर्व माओवादी निकट नेताहरुले जानकारी दिएका छन् । शिवाकोटीविरुद्ध परिचालित हुनेमा काभ्रे कोशी पारि विर्ता देउरालीका रामेश्वर पाण्डे लगायत पुर्व माओवादी कार्यकर्ता रहेको बुझिएको छ । त्यसैगरी वानेश्वरका दुई अलग अलग रेष्टुरेण्टमा समेत केहि व्यक्तिहरुले शिवाकोटी तथा हाम्राकुरा डटकममाथि आक्रमण गर्ने योजनालाई समेत नियाल्दै उनिहरुमाथि खोजी गरिरहेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुलाई पत्रकार शिवाकोटी विरुद्ध परिचालन गरिएको भन्ने सूचनाका आधारमा उनीहरुको खोजी गरिएको जनाएको छ । महराले संसद सचिवालयका कार्यरत स्वाथ्यकर्मी रोशनी शाहीलाई यौन हिंसा गरेको समाचार भिडियोसहित सार्वजनिक भएपछि महराले सभामुखबाट राजिनामा दिएका छन् ।

पत्रकार शिवाकोटीसँग भिडियो अन्तर्वार्तामा तत्कालिन सभामुख महराले आफुलाई जवरजस्ती यौनहिंसा गरेको खुलस्त बताएपनि अहिले भने त्यसको खण्डन गर्दै आएकी छन्। उनले दवाव र प्रभावमा परेर पहिला आफैले बोलेको कुराको खण्डन गरेको भन्दै सर्वत्र आलोचना भएको छ । रोशनीलाई बयान फेर्न लगाउने महराले समाचार लेख्ने पत्रकार शिवाकोटीलाई पनि ठेगान लगाउने भन्दै आफु निकटस्थहरुलाई परिचालन गरेको पाइएको छ । पत्रकार शिवाकोटीले पनि आफुलाई नचिनेका फोन नम्मरहरुबाट अपरिचित व्यक्तिहरुले धम्क्याउन थालेको बताएका छन् । धम्क्याउनेहरुबाट असुरक्षित महसुस गरेपछि शिवाकोटीलाई अहिले प्रहरीले सुरक्षा निगरानी गरिरहेको छ भने धम्क्याउनेहरुको पनि खोजी गरिरहेको छ ।

नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीलाई असुरक्षा भएको प्रति युनियनले पनि गम्भीर चिन्ता व्यक्त गरेको छ ।
समाचार लेखेकै आधारमा आफ्ना महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने व्यक्तिहरुलाई तत्काल कानूनी कठघरामा ल्याउन युनियनले माग गरेको छ । युनियनका अध्यक्ष बद्री सिग्देलले बिहिबार विज्ञप्ति जारी गर्दै शिवाकोटीको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ,’ “हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रकाशित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी माथी सुरक्षा चुनौती देखिएको सम्बन्धमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको बिहिबार बसेको आकस्मीक बैठकले पनि युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भिर आपत्ति प्रकट गरेको छ । “नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौ,” विज्ञप्तीमा लेखिएको छ । अध्यक्ष सिग्देलले कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्य गरी सिंगो प्रेस जगतलाई नै आतंकीत बनाउन खोज्नु दुभाग्र्यपुर्ण भएको बताएका छन् । स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ भएकाले पत्रकार मात्र नभई सवै लोकतान्त्रवादीहरु यस्ता गतिविधिका विरुद्धमा उत्रिनु पर्ने सिग्देलले उल्लेख गर्नुभएको छ । सरोकारवाला सवै निकायहरुको ध्यानाकर्षण गराउँदै प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे प्रेस युनियन कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि विज्ञप्तीमा दिइएको छ ।