राजपा र समाजवादीबीच एकीकरणको अपरिहार्यता किन ?

१६ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
44 Shares


संगीता रेग्मी-नेपालको राजनीतिमा प्रदेश २ ले विशेष महत्व राख्ने गरेको छ । अहिले पनि ७ प्रदेश मध्ये ६ प्रदेशमा नेकपाको सरकार छ भने प्रदेश २ मा मात्र गैर कम्युनिष्ट सरकार छ । त्यहाँ राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीले संयुक्त सरकार चलाइरहेको छ । संविधानसभाबाट संघीय गणतन्त्रतात्मक संविधान जारी हुँदासम्म यहाँ विभिन्न घटना परिघटनाहरू भइरहे । राजनीतिक मुद्दाका हिसाबले होस् वा विभिन्न भ्रष्टाचार, अनियमितता, सामाजिक कुरिति जस्ता कारणबाट होस् प्रदेश २ अहिले पनि सधैंजसो चर्चामा रहन्छ । संविधान दिवसको विरोध संविधान निर्माण प्रक्रियामा आफूहरूलाई सहभागी नबनाएको र आफ्ना मुद्दाहरू नसमेटेको भन्दै संविधान दिवसको विरोध गर्दै आएका मधेश केन्द्रित दलहरूले यो वर्ष पनि संविधान दिवसलाई कालो दिवसको रूपमा मनाए । संविधान संशोधनको मुद्दा लिएर सरकारमा सहभागी भएको सामाजवादी पार्टी मौन बसेको अवस्थामा राजपा नेपालले भन्ने प्रदेश २ का विभिन्न ठाउँमा विरोध जुलुस गर्दै संविधानको विरोधमा कालोपट्टी बाँधेर कालो दिवस मनायो । संघीय सरकारमा प्रतिनिधित्व गरेको र प्रदेश २ मा सरकार संचालनमा रहेको समाजवादी पार्टी मौन बस्नु र संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रदेश २ मा समाजवादी पार्टीसँग मिलेर सरकार संचालनमा रहेको राजपाले संविधान दिवसलाई विरोध दिवसको रूपमा मनाउनु आफैंमा दुई राजनीतिक दलहरूको आन्तरिक रूपमा रहेको कमजोर सहकार्य हो । आफ्ना स्वार्थपूर्तिका लागि सरकारमा सहभागी भएका दलहरूको उर्दीमा प्रदेश २ का जनताले पहिले जस्तै यो वर्ष पनि संविधान दिवस मनाउन पाएनन् वा मनाएनन् ? संविधान स्वीकार्दै सांसद बन्ने र संविधान दिवसको विरोध गर्ने एक हिसाबले राजनीतिक बेइमानी हो ।

संविधानको सपथ खाएर त्यसको विरोध गरेर सबै मधेशीको मानमर्दन हुने काम त कतै यी दलहरूले गरेका छैनन् भन्ने प्रश्न उठ्न थालिसकेको छ । संविधान संशोधन गराउँछु भन्दै सरकारमा सहभागी भएका तत्कालीन उपेन्द्र यादव नेतृत्वको पार्टीले अहिलेसम्म संशोधनको कुनै पनि विषय अगाडि बढाउन सकेको छैन । यो फगत उनको सत्तामा जाने बहाना मात्रै थियो कि ? अहिलेको अवस्थालाई हेर्दा संविधानको विरोध गर्ने नैतिक वा राजनीतिक आधार राजपा र समाजवादी दलसँग छैन । राजपा भित्रको आन्तरिक किचलो  राष्ट्रिय जनता पार्टी, नेपाल गठन भएको साढे २ वर्ष भयो । यो अवधिमा अध्यक्षमण्डलमा रहेका ६ जना सदस्यको अध्यक्ष बन्ने चक्र पनि पूरा भएको छ । पार्टी गठन भएदेखि २० महिनासम्म महन्थ ठाकुर अध्यक्ष मण्डलको संयोजक भएर काम गरे । उनीमाथि पार्टीमा अनियमितता गरेको, पार्टीमा पदाधिकारी नियुक्ति जथाभावी गरेको लगायतका आरोप लगाएर चक्रीय प्रणाली अनुरूप नेतृत्व गर्ने भन्दै २÷२ महिनाका लागि सदस्यहरू अध्यक्षमण्डलका अध्यक्ष भएर पार्टीको नेतृत्व गरे । असोज ६ गतेदेखि पुनः ठाकुरलाई संयोजकको जिम्मेवारी दिइएको छ । ६ पार्टी मिलेर बनेको राजपा नेपाल अहिलेसम्म पनि भित्रि रूपमा संगठित र एकीकृत हुन सकेको छैन । ६ पार्टी मिलेको छ तर ६ पार्टीकै शीर्ष नेतृत्वको मन अहिलेसम्म मिल्न सकेको छैन । पार्टीमा लागू गरिएको चक्रीय प्रणालीले पार्टीलाई कुनै फाइदा पु¥याउन सकेको छैन ।६ जनै अध्यगमण्डलका सदस्यहरू पालै पालो अध्यक्ष भए पनि पार्टीको मुख्य कार्यभर ‘एकताको पहिलो महाधिवेनश’ गराउन सकेका छैन । अहिले पनि राजपा नेपालमा ६ वटै पार्टी रहेको महसुस हुन्छ ।आ–आफ्नो स्वार्थअनुसार काम गर्नु, आ–आफ्नो गुट चलाउनु आदि कारणले राजपा भित्रको विवाद उत्कर्षमा पुगेको छ।

पार्टी एक भएपनि कार्यकर्ताको व्यवस्थापन, संगठन निर्माण जस्ता विषयलाई पूर्णता दिन सकेको छैन । चुनावमा सहकार्य गरेका राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण गर्ने चर्चा चलेको पनि लामो समय भयो तर अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन । राजपा नेपालले कार्तिक २७, २८ र २९ गतेलाई महाधिवशेनको मिति तोकेको भएपनि अहिलेसम्म त्यसको कुनै तयारी भएको छैन । पहिले समाजवादी पार्टीसँग एकीकरण गर्ने कि महाधिवशेनमा जाने भन्ने विषयमा पार्टाीभित्रै विवाद सिर्जना भइरहेको छ । यसरी आफ्नै पार्टीलाई व्यवस्थित रूपमा अगाडि बढाउन नसकेको दलले प्रदेशको विकासका लागि कसरी काम गर्न सक्छ सोचनीय विषय हो । राजपा र समाजवादीको आगामी बाटो  मुद्दा समान भएका राजपा र समाजवादीबीच एकीकरण गर्नुको कुनै विकल्प छैन । आफू सत्ताको स्वार्थ चाखिराख्ने र जनतालाई भ्रममा राखिराख्ने हो भने यी दलहरूको पतन हुने स्थिति धेरै टाढा छैन । मधेशको नाममा भ्रम फैलाएर राजनीतिक सिँढी चढ्ने बाटो तयार बनाउनु र त्यहाँका अशिक्षित र गरिब जनतालाई बर्षौसम्म यो संविधानले मधेशीलाई विभेद गरेको छ भन्ने भ्रममा राखिराख्नु राजनीतिक अधर्म हो । यही अवस्थामा दोधारे नीति लिएर बसिरहने हो भने प्रदेश २ अन्य प्रदेशको तुलनामा झन् झन् पछाडि पर्दै जाने निश्चित छ । विभिन्न सूचकांकहरूमा अत्यन्त दयनीय अवस्थामा रहेको प्रदेश २ लाई माथि उठाउने जिम्मेवारी यही राजपा र फोरमको काँधमा छ । त्यसैले यी दलहरूले एकीकरण गरी प्रदेशको विकासमा आफ्नो ध्यान केन्द्रित गर्न जरूरी छ । अहिले प्रदेश २ आन्तरिक रूपमा कमजोर र बाह्यरूपले असफल भइसकेको छ । यो अवस्थाबाट प्रदेशलाई मुक्ति दिने भएपनि राजपा र समाजवादीको एकीकरण अपरिहार्य छ । (मधेश दर्पण फिचर सेवा)

फेसबुकबाट तपाईको प्रतिक्रिया