आज गाईजात्रा पर्व देशैभर मनाईयो

प्रकाशित मिति:

देशका बिभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइएको छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व मानिन्छ । गाईजात्रामा वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।
यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । शहरमा गाई पाल्नेहरुले भने साँच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराईन्छ ।
यो जात्रा काठमाडौं उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि, रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक र्पयो भनेर देखाउन यो जात्रा मनाउन थालेको विश्वास छ । गाईजात्राको अवसरमा सोमबार सरकारले उपत्याकामा मात्र सार्वजनिक विदा दिएको थियो । यस्तै रुपन्देही लगायतका तराईका जिल्ला तथा पाल्पाको तानसेन, गुल्मीको तम्घास, सन्धिखर्क लगायतका स्थानमा पनि गाईजात्रा पर्व मनाईएको छ ।  तानेसेनमा गाईजात्रालाई उत्सवकै रुपमा मनाइृएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।