एनआरएनए उपाध्यक्ष कुल आचार्यको निवासमा प्रहार

प्रहरीले शुरु गर्‍यो अनुसन्धान

प्रकाशित मिति:

ललितपुर – गैरआवासिय नेपाली संघका उपाध्यक्ष कुल आचार्यको घरमा बुधवार राती शंङ्कास्पद प्रहार भएको छ। आचार्यको सानेपास्थित निवासमा वुधवार उनी नभएको समयमा प्रहार भएको हो। आचार्य नभएको बुधवार राती उनी सुत्ने कोठामा प्रहार हुँदा झ्यालको सीसा फुटेको छ। ८६ बर्षिय आमा मात्र घरमा रहेको बेला भएको प्रहारको जानकारी उनले ढीलो गरि विहिवार मात्र थाहा पाए। उनले जानकारी पाए लगत्तै प्रहरीलाई खबर गरेका थिए। प्रहरीले जानकारी पाए लगत्तै अनुसन्धान शुरु गरेको छ। अपराध अनुसन्धानका प्रहरी नायव उपरिक्षक देवेन्द्र पाण्डेले प्रारम्भिक अनुसन्धान शुरु गरिएको बताए। आचार्यको घरमा गोली प्रहार लगायत अन्य शंकास्पद आक्रमण के हो भन्ने सबै कोणबाट अनुसन्धान शुरु गरिएको पाण्डेले बताए।

प्रहरी नायव उपरिक्षक पाण्डेले भने, ‘ घरमा भएको प्रहारमा गोलीबाटै प्रहार भएको जस्तो नदेखिएको बताए। यद्यपी यसलाई गम्भिरतापूर्वक लिएर अनुसन्धान जारी राखेका छौं । प्रहरीका केहि व्यक्तिहरुलाई सिभिलमा पनि आचार्यको घर आसपास छोडिएको छ।’ आचार्यको दिदी कौशिलाले घटनाको बुधवार राती भएको आफूले विहिवार मात्र थाहा पाएको बताइन् । उनले हाम्राकुरासँग भनिन, ‘भाइ सुत्ने कोठामा प्रहार भएको रहेछ। बृद्ध आमाले छोराको कोठामा विहिवार झ्यालको सीसा फुटेको देखेर खुट्टामा विज्ला भनेर सफा गराउनु भएछ। अहिले आएर हेर्दा घटना शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरिएको हो।’ उनले कसैलाई शंका गर्ने आधार नभएपनि एनआरएनको चुनावमा अध्यक्षका प्रत्यासी रहेका भाइलाई लक्षित गरि भएको प्रहारले आफूहरुलाई डर लागेको बताइन।