कृत्रिम रुपमा जितेर मात्रै के गर्नुहुन्छ र देउवा जी ?

प्रकाशित मिति:

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो जागरण अभियान केही दिनअघि मात्रै सम्पन्न भएको छ। दोस्रो जागरण अभियान चल्दै गर्दा कांग्रेस निकट धेरैजसो भातृ संघ संस्था नेतृत्वविहीन जस्तै भएको अवस्थामा यसको प्रभावबारेमै प्रश्न चिह्न खडा भयो। नेविसंघमा विगतदेखिको विवाद र तरुण दलमा महासचिवले अध्यक्ष र अध्यक्षले महासचिव हटाउने खेलले दोस्रो जागरण अभियान भन्दा धेरैको ध्यान तरुण दलमा केन्द्रित देखिएको थियो। कांग्रेसभित्रका पछिल्ला गतिविधि र विवादबारे नेपाल लाइभसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भातृ संघ संस्थाको अधिवेशन गर्न आफूले पटक पटक भन्दै आए पनि सभापति शेरबहादुर देउवाले चासो नदेखाएको बताएका छन्।

विभिन्न संघ संस्थाको विवाद हुँदा पनि अधिवेशन नगराइएकोप्रति पौडेलले असन्तुष्टि जनाए। नेता पौडेलले निर्वाचन भइसकेका भातृ संघ संस्थाको नेतृत्वले पनि आफू मातहतलाई राम्रोसँग परिचालन नगर्दा सभापति देउवालाई बारम्बार कृतिम रुपमा मात्रै जित्नुको कुनै अर्थ नहुने बताउँदै आएको दाबी गरे। ‘भातृसंघ संस्थाको विवाद समाधान गर्न अधिवेशन समयमा गर्नुपर्दछ भन्ने मेरो भनाइ रहँदै आएको छ। जहिले पनि अरु मर्का सहेर भएपनि अधिवेशन गराऊँ। भातृ संस्था आफ्नो पक्षबाट नभए पनि सभापतिका पक्षकाले निर्वाचन जिते। कसरी जिते? जसरी जिते पनि अब, अधिवेशनमा जाने अवधि भयो भनेर मैले भन्दै आएको छु। जथाभावी मनोनित गरेको कुरामा विवाद थियो। त्यसलाई पनि ल भैगयो छोडम्। तर अधिवेशन गरौं भन्दा भन्दै अधिवेशन गरेनन्।

अधिवेशन गराइएन। अधिवेशन गरायो भने चुनाव हारिन्छ कि भनेर हो कि किन नगराएका हुन्,’ वरिष्ठ नेता पौडेले भने, ‘अधिवेशनमा नगएपछि नेविसंघको त्यो हालत छ। महिला संघमा पनि कसरी चुनाव जिते? अहिले मिलाएर महिला संघ चलाउनुपर्ने ठाउँमा एकलौटी ढङ्गले चलाइयो। त्यसले राम्रो प्रस्तुति देखिएन। आम महिलाको नेतृत्व र सम्बोधन गर्न सकेको छैन। आम महिलालाई परिचालन गर्न सकेको छैन। त्यसैले मैले सभापति जिलाई भन्छु, तपाईंले जिताएर मात्रै के गर्नुहुन्छ? कृतिम रुपमा जितेर मात्रै, खै के फाइदा भयो? जस पाउनुभयो तपाईंले भन्दै आएको छु।’कुनै भातृ संस्थाको अधिवेशन नगर्ने गरेकाले पनि राम्रो कार्यसम्पादन नगर्ने, सबैलाई मिलाएर परिचालन गर्न नसक्ने, एक आपसमा झगडा गर्नुले कांग्रेस झन् कमजोर हुँदै गएको पौडेल बताउँछन्।

पार्टीभित्र देखिएका समस्याको समाधानका लागि आफ्नो तर्फबाट निरन्तर प्रयास गरिरहेको भन्दै नेता पौडेलले त्यसलाई सभापति देउवाले मनन् नगरेसम्म समाधान नहुने बताए। पार्टीलाई दिएको सल्लाह सुझाव लागू नहुँदा आफूलाई पनि असहज महसुस हुने गरेको उनको तर्क थियो। यस्तै, उपसभापति विजयकुमार गच्छादारसँगको पार्टी एकता टुंगो लगाउनेबारे पनि कांग्रेसभित्र छलफल जारी छ। गच्छादारका पक्षबाट ११ जना कांग्रेस केन्द्रीय कार्यसमितिमा थपिदैंछन्। गच्छादारले केन्द्रीय समितिमा ल्याउने चर्चामा रहेका केही व्यक्ति विवादित छन्। तर, पनि गच्छादारले विश्वास गरेपछि आफूहरूले पनि त्यस्ता व्यक्तिलाई विश्वास गर्नुपर्ने पौडेलको भनाइ छ। केन्द्रीय सदस्य बनाउन उपयुक्त ठानेर ल्याएको नामलाई नै कांग्रेसले अनुमोदन गर्ने पौडेलले जानकारी दिए।