सरकारलाई असफल हुने छुट छैनः पौडेल

प्रकाशित मिति:

सबलपोस्ट/ तिलोत्तमा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । नेकपा नेतृत्वको सरकार नै असफल भए मुलुकमा संवैधानिक संकट आउने र व्यवस्था नै असफल हुने उनले दावी गरे ।नेकपा तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठ पर्वको अवसरमा शुक्रबार मणिग्राममा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव पौडेलले यस्तो बताएका हुन् । “यो सरकारलाई असफल हुने छुट छैन, यो असफल भए राष्ट्रकै जीवनमा एकसाथ अनेक संकट आउँछन्, संविधान र राजनीतिक दल पनि रहने कि नरहने भन्ने प्रश्न सिर्जना हुनेछन्”–उनले भने ।सरकारका अहिलेसम्मका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको उनले बताए । स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढंगले परिचालित गर्ने योजना पार्टीले बताएको पनि महासचिव पौडेलको भनाइ छ ।

कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएको भन्दै उनले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ नरहने बताए । महासचिव पौडेलले बुटवल, तिलोत्तमा र सिद्धार्थनगरलाई मेगासिटीको रुपमा विकास गरिने उल्लेख गर्दै यस क्षेत्रमा सञ्चालित विकासका ठूला आयोजनाहरु सम्पन्न भएपछि आमूल परिवर्तन आउने बताए “प्रदेशस्तरीय मेडिकल कलेज, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङ मार्ग, कालीगण्डकी तिनाउ डाईभर्सन जस्ता ठूला आयोजनाहरुले यस क्षेत्रको मुहारमा ठूलो परिवर्तन ल्याउँछ”–पौडेलले भने ।कार्यक्रममा बोल्दै नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्माले सरकारले गरेका राम्रा कामहरुलाई जनतामाझ लैजान र गलत भएको भए खवरदारी गर्न कार्यकर्तालाई आग्रह गरे । नेकपाले प्राप्त गरेको सफलताबाट अत्तालिएकाहरुले सरकारका विरुद्ध भ्रम फैलाउने कोशिष गरिरहेको उनले बताए ।नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पंक्तिमा उत्साह थपिएको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले गरेका काम कारवाहीलाई जनतामाझ लैजाने पुलको रुपमा स्थानीय कमिटीले काम गर्नुपर्नेमा जोड दिए ।