सी चिनफिङलाई ‘जेड प्लस’ सुरक्षा व्यवस्थाको तयारी

प्रकाशित मिति:

काठमाडौं  – चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ । सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ । यो प्रकृतिको सुरक्षा राजकीय भ्रमणमा आउने अति विशिष्ट व्यक्ति (भीभीआईपी) लाई दिइन्छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ‘जेड प्लस’ सुरक्षा दिइएको थियो ।

आफ्ना राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सरकारका मन्त्रीसँगको भेटलाई तीव्रता दिएकी छन् । गृहमन्त्री रामबहादुर थापासँगको भेटमा यान्छीले आफ्ना राष्ट्रपतिको भ्रमणलाई विवादरहित र त्रुटिरहित ढंगले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेकी छन् । गृहमन्त्री बादलले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगै सेनाका उच्च अधिकारीलाई डाकेर राष्ट्रपति सीको भ्रमण सुरक्षामा कुनै त्रुटि हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेका छन् ।