यस वर्षको मदन पुरस्कार निलम कार्की ‘निहारिका’ को ‘योगमाया’ ले पाएको छ।
यस वर्ष मदन पुरस्कारनिम्ति आठ पुस्तक सिफारिस गरिएको थियो ‘कैरन’ (ध्रुवसत्य परियार), ‘नथिया’ (सरस्वती प्रतीक्षा), ‘पाठशाला’ (तीर्थ गुरुङ), ‘भुइँया’ (यज्ञस), ‘यार’ (नयनराज पाण्डे), ‘योगमाया’ (निलम कार्की ‘निहारिका’), ‘लिम्बुनी गाउँ’ (राज माङलाक) र ‘हिमाली दर्शन’ (मोहन वैद्य ‘किरण’)।
यीमध्येबाट योगमायालाई पुरस्कार दिने निर्णय गरिएको मदन पुरस्कार गुठीले जानकारी दिएको छ।
त्यस्तै गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बाश्री पुरस्कार दिने निर्णय पनि गरेको छ।
१९३० दशकमा भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन्। उनले निरंकुश राणाशासनको विरोध गरेकी थिइन्। अशिक्षित नेपाली समाजलाई संगठित गरी मर्न र मार्नसमेत तयार पारिन्। तिनै योगमायाका बारेमा साहित्यकार कार्कीले स्थलगत अध्ययन गरी लेखिएको उपन्यास हो ‘योगमाया’।
लखक कार्कीका दुई कविता संग्रह, तीन कथा संग्रहका साथै अर्की आइमाई र चीरहरण उपन्यास प्रकाशित छन्। चीरहरणले २०७२ को पद्मश्री पुरस्कार पाएको थियो।