अबदेखि करचुक्ता प्रमाणपत्र लिन कर कार्यालय धाउनु नपर्ने

प्रकाशित मिति:

काठमाडौं- सरकारले कर दाखिलाको दायित्व नभएका करदातालाई स्वत: करचुक्ता प्रदान गर्ने भएको छ। आयकर ऐनको व्यवस्थाअनुसार डेबिट विवरण भएका र कर दाखिलाको दायित्व नभएका करदातालाई स्वत: करचुक्ता प्रमाणपत्र उपलब्ध गराउन लागिएको हो। आन्तरिक राजस्व विभागका अनुसार विद्युतीयरुपमा नै यस्तो प्रमाणपत्र उपलब्ध हुनेछ। यस्तो प्रमाणपत्रमा कर अधिकृतको हस्ताक्षर, कार्यालयको चलानी नम्बर र कार्यालयको छाप भने हुँदैन। आन्तरिक राजस्व विभागले शुक्रबारबाट यो व्यवस्थाको थालनी गरेको विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जानकारी दिए।

यसअनुसार अबदेखि २० लाख रुपैयाँसम्मको कारोबा गर्ने प्रोपाइटरसिप गर्ने व्यक्तिले अनलाइनबाटै करचुक्ताको प्रमाणपत्र लिन सक्नेछ।विभागका सूचना प्रविधि निर्देशक विनोद बिडारीका अनुसार करदाताले आफ्नो युजर नेम र पासवर्डमार्फत कर चुक्ता प्रमाणपत्र लिन आवेदन दिन सक्नेछ। विभागले करदाताको विवरणका आधारमा उसलाई कर चुक्ता प्रमाणपत्र प्रिन्ट गर्न सुविधा दिएको हो। विभागले त्यस्तो प्रमाणपत्रमा स्वचालितरुपमा लिइएको करचुक्ता प्रमाणपत्र भन्ने वाक्यांशसहितको प्रमाणपत्र दिनेछ।