हङकङमा मास्क लगाउन नपाइने

प्रकाशित मिति:

काठमाडौँ –हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवाना सहित जेल सजाय हुनेछ।अक्टोबर ४ तारिख मध्य राति १२ बजेदेखि यस्तो नियम लागू हुनेछ। नियम उल्लंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद गर्न सकिनेछ ।शुक्रबार हङकङ विशेष प्रशासनिक क्षेत्रकी मुख्य प्रशासक क्यारी ल्यामले विशेष प्रशासनिक बैठकको आह्वान गरेर यस्तो निर्णय गरेको बेइजिङस्थित सञ्चारमाध्यमहरूले जनाएका छन्।

विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुद प्रदर्शनकारीहरूले हङकङमा तोडफोड जारी राखेका छन्। गत जुलाईदेखि भइरहेका तोडफोडमा संलग्नहरूले मुख छोपेका कारण पहिचानमा कठिनाइ भएपछि हङकङले ‘मास्क निषेध’को नयाँ नीति ल्याएको हो।सो बैठकले आपतकालीन व्यवस्था नियमावलीलाई आधार मान्दै सामाजिक परिपाटी पुनस्थापित गर्ने तथा हङकङमा जारी प्रदर्शनहरू रोक्ने उद्देश्यले कसैले पनि मुख लुकाएर हिँड्न नपाउने गरी ‘मास्क निषेध’को निर्णय तर्जुमा गरेको हो ।विगत ४ महिनादेखि मुख लुकाएर प्रदर्शनकारीहरु हिंसात्मक गतिविधिमा उत्रिएका छन् प्रमुख क्यारीले भनिन्,‘मास्क निषेध गर्ने नियमबाट सुरक्षा निकायलाई कानुन बमोजिम कारबाही अघि बढाउन सहयोग पुग्नेछ।’